काठमाडौं– सडकको अवस्था सुधार्न दिइएको निर्देशन पालना नभएको सरकारले स्वीकार गरेको छ। सडकको दुरावस्थाका कारण शहरी सौन्दर्य गुमेको र दुर्घटनासमेत निम्तिने गरेको ठहरसहित प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले दिएको निर्देशन सरोकारवाला निकायले पालना नगरेका हुन्।
गत २७ असारमा प्रधानमन्त्री ओलीले ५० दिनभित्र चावहिल–बौद्ध–जोरपाटी सडक र कलंकी–नागढुंगा सडकसहित उपत्यकाका अन्य सडकको खाल्डाखुल्डी पुर्ने र महसुस हुनेगरी सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।
निर्देशन दिएपछि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको अनुगमनले अपेक्षित काम हुन नसकेको निष्कर्ष निकालेको हो।
कार्यालयले गरेको अनुगमनबाट चावहिल–बौद्ध–जोरपाटी सडक खण्डमा खाल्डाखुल्डी र पानी जम्ने अवस्था कायमै रहेको देखिएको छ। त्यस्तै, विद्युत र टेलिफोनका पोल तथा तारहरू प्रतिवद्धता जनाएअनुसार नहटाइएको तथा निर्माण सामग्री सडकमा यत्रतत्र छरिएको अवस्थामा पाइएको अनुगमनपछि कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उक्त खण्डको सडक सुधारका लागि अघि सारिएको चावहिल–बौद्ध–जोरपाटी सडक आयोजनाले पनि निर्धारित समय २ वर्षमा करिब एक तिहाइ हिस्सा काममात्र सम्पन्न गरेको पाइएको कार्यालयले बताएको छ।
त्यस्तै, कलंकी–नागढुंगा सडक खण्डमा पनि सडकका खाल्डा पुर्ने तथा पोल, तार र ढल व्यवस्थापन गर्ने लगायतका काम सन्तोषजनक रुपमा हुन नसकेको स्वीकार प्रधानमन्त्री कार्यालयले गरेको छ।
गत असारको निर्देशनपछि पनि अपेक्षित गतिमा काम हुन नसकेपछि एक महिनाअघि गत १६ साउनमा प्रधानमन्त्री ओलीले उपत्यकाका प्रमुख सडकको अवस्था सुधार्न पुनः निर्देशन दिएका थिए। उनले प्रमुख सडकका खाल्डाखुल्डी पुर्न, सडक बत्तीको व्यवस्था गर्न, ट्राफिक संकेतसमेतको व्यवस्था मिलाउन सरोकारवाला निकायलाई निर्देशन दिएका थिए।
अनुगमनपछि केही मात्रामा सकारात्मक काम भएको ठहर कार्यालयले गरेको छ। तर, अपेक्षित काम हुन नसकेपछि खाल्डाखुल्डीमा बेस हाल्ने, नाली तथा ढल बनाउने, निर्माण सामग्री र फोहोरमैला उपयुक्त स्थानमा व्यवस्थापन गर्ने, विद्युत र टेलिफोनका तार व्यवस्थापन गर्ने लगायतका काम तत्काल सम्पन्न गर्न सरोकारवाला निकायलाई पुनः निर्देशन दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।