काठमाडौं– सरकारले बाराको सिमरामा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आशय पत्र माग्ने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा विमानस्थल निर्माण मोडालिटीको सम्बन्धमा आशय पत्र माग्ने निर्णय भएको हो। छलफलमा पर्यटन मन्त्री रविन्द्र अधिकारी, अर्थमन्त्री डा युवराज खतिवडा, पर्यटन सचिव, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड र मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए।
पर्यटन मन्त्रालयले गत चैतमा मात्रै विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मुल्यांकन रिर्पोट समेत स्वीकृत गरेको थियो। मन्त्री रविन्द्र अधिकारीले मन्त्रालयको जिम्मेवारी समाले लगत्तै कोरियाली कम्पनी एलएम डब्लुले तयार गरेको विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन समेत ग्रहण गर्ने निर्णय गरेका थिए।
सरकारले ८० वर्गकिलोमिटर क्षेत्रफलमा रहेको घना जंगल कटानी गरी विमानस्थल निर्माण गर्न लागेको हो। विमानस्थल निर्माणका लागि आवश्यक १ सय १० विघा जग्गा अधिकरण समेत भइसकेको छ। साथै सरकारले यसै आर्थिक वर्षमा विमानस्थल निर्माण स्थलमा रहेको बस्ती समेत स्थानान्तरण गर्ने योजना बनाएको छ।
विमानस्थल निर्माणका लागि आवश्यक रुख कटानीको जिम्मा नेपाली सेनालाई निर्णय समेत भइसकेको छ। तर, रुख कटानीको फाइल भने वन मन्त्रालयमा रोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।