काठमाडौं– भुटानका अन्तरिम सरकारका प्रमुख तथा प्रधानन्यायाधीश दाशो छिरिङ वाङ्चुक काठमाडौँ आएका छन्। चौथो बिम्स्टेक सम्मेलनमा भाग लिन वाङ्चुक बुधबार काठमाडौँ उत्रिएका हुन्।
वाङ्चुकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। वाङ्चुक २०१४ देखि भुटानका प्रधानन्यायाधीश नियुक्त भएका हुन्। भुटानमा आमनिर्वाचन गर्न गत अगष्ट १ मा राष्ट्रियसभाको विघटन भएपछि वाङ्चुकलाई अन्तरिम सरकार प्रमुखको जिम्मेवारी दिइएको हो। भुटानको तेस्रो संसदीय निर्वाचन आगामी फेबु्रअरी महिनामा हुने अपेक्षा गरिएको छ।

भुटानका अन्तरिम सरकार प्रमुख वाङ्चुक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहण गर्दै, साथमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल
वाङ्चुकले चौथो बिम्स्टेक सम्मेलनमा भाग लिएपनि सम्मेलनले जारी गर्ने सहमतिपत्रमा विशेष उपस्थिति मात्रै जनाउने छन्। निर्वाचनपश्चात् आउने भुटानको नयाँ नेतृत्वले सम्मेलनले पारित गरेको सहमतिमा हस्ताक्षर गर्ने तथा सम्मेलनमा वाङ्चुकको विशेष उपस्थितिका लागि मात्रै सहभागिता निश्चित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।