भैरहवा- बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीका राष्ट्रहरूको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुनुअघि म्यानमारका राष्ट्रपति विन मिन्ट भरखरै लुम्बिनी आइपुगेका छन्।
सम्मेलन समापनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति मैथ्रिपला सिरिसेना समेत लुम्बिनी भ्रमणमा आउने भएकाले यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
बिम्स्टेक सम्मेलन काठमाडौंमा १४ र १५ गते हुँदैछ।
दुवै राष्ट्रपतिको सुरक्षा चुनौती विश्लेषण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी र जिल्लाको सीमा क्षेत्रमा व्यापक कडाइ गर्नुका साथै उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

राष्ट्रपतिहरुको सुरक्षार्थ सरकारले देशको चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग गरी एक हजार ६ सय जना सुरक्षाकर्मी लुम्बिनीमा परिचालन गरेको छ।
रुपन्देही प्रशासनले नेपाल-भारत सीमा नाका बेलहिया, कर्करहवा, लुम्बिनी लगायत क्षेत्रमा सुरक्षाको व्यवस्था कडा पारेको जनाएको छ।
विदेशी राष्ट्रपति लुम्बनीसमेत आउने भएपछि भैरहवा क्षेत्रको सीमानाका बेलहियासँगै अन्य सीमा नाकाबाट आवातजावत गर्ने व्यक्तिमाथि प्रशासनले निगरानी बढाएको छ। नाकाहरुमा प्रहरी परिचालन गरेर कडा चेकजाँच भइरहेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जिल्लाको सीमावर्ती क्षेत्रमा निगरानी बढाइनुका साथै कडा रुपमा चेकजाँच भइरहेको बताए। उनले सुरक्षा योजना अनुसार नाकामा चेकजाँच, निगरानी, लुम्बिनी लगायत क्षेत्रमा सुरक्षा निकायहरुको पैदल गस्ती, मोबाइल पेट्रोलिङ लगायत सुरक्षा व्यवस्था अन्तर्गत कार्य भइरहेको जानकारी दिए। 'खुल्ला सिमाना भएका कारण केही आपराधिक गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रको सुरक्षा कडा पारिएको छ,' उनले भने।

लुम्बिनीको सुरक्षा चुस्तदुरुस्त रहेको बताउँदै उनले दुवै राष्ट्रपतिलाई भिभिआइपी सुरक्षामा लुम्बिनी भ्रमण गराइने जानकारी गराए। 'उनीहरु कहाँकहाँ जान्छन्, त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरिरहेका छौँ,' प्रजिअ रानाले भने, 'उनीहरुको सुरक्षामा कुनै कमी हुनेछैन।'
यस्तै रुपन्देही प्रशासनले म्यानमारका राष्ट्रपति आउनुअघि मंगलबार ग्रान्ड रिहर्सल गरेको छ। भैरहवा विमानस्थलदेखि लुम्बिनीमा रहेको हेलिप्याड, मायादेवी मन्दिर, भिभिआइपी पाहुना बस्ने होटल लगायत पाहुना जानका लागि तय गरिएको रुटमा ग्रान्ड रिहर्सल गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।