काठमाडौं- ललिता निवासको जग्गा कीर्ते गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेर न्यायिक हिरासतमा रहेका तीन जना आरोपित सर्वोच्च अदालत पुगेका छन्।
हदम्याद समाप्त भइसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको र जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न अनुमति दिएपछि उनीहरु बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन्।
आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरिएको दाबीसहित पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराइएको हो। उनीहरुले बुधबार नै निवेदन पेस गरेका थिए। उनीहरुको पहिलो सुनुवाइको पेसी शुक्रबारका लागि तोकिएको छ।
उनीहरुले न्यायाधीश ईश्वरप्रसाद खतिवडाले यसअघि जारी गरेको अन्तरिम आदेशलाई आधार देखाउँदै हदम्याद नै नभएको घटनामा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्नु गैरकानुनी भएकाले आफूहरु साधारण तारेखमा रिहा हुनुपर्ने माग गरेका छन्। योसँगै हदम्याद विवाद सर्वोच्च पुगेको छ। सर्वोच्चले शुक्रबार गर्ने आदेशले हदम्यादको टुङ्गो लाग्नेछ।
२०७९ साउन १९ गते न्यायाधीश खतिवडाले यही प्रकरणमा जोडिएका १७ जनालाई तत्काल पक्राउ नगर्नु भनी अन्तरिम आदेश जारी गरेका थिए। उक्त आदेश देखाउँदै मंगलबार पक्राउ परेका केही आरोपितहरु कागज गराएर प्रहरी कार्यालयबाटै रिहा भएका थिए। उनीहरु रिहा भएपछि पक्राउ परेका व्यक्तिहरु सर्वोच्च पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।