काठमाडौं– बिम्स्टेक शिखर सम्मेलनमा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आजदेखि लागू हुन लागेको जोर–बिजोर प्रणालीको समय र सीमा तोकिएको छ।
गृह मन्त्रालय अन्तर्गत सुरक्षा महाशाखाको बैठकले बिहान ६ बजेदेखि राति १० बजेसम्म सो प्रणाली लागू हुने निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने व्यवस्थाअन्तर्गत राति १० देखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी पनि निर्वाध रुपमा सञ्चालनमा आउनसक्ने महाशाखाले जनाएको छ।
बिम्स्टेक सम्मेलनमा खटिने तथा आमन्त्रित व्यक्तिहरुका लागि भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न दिइनेछ। त्यस्तै, हवाई सेवामार्फत काठमाडौं बाहिर जाने यात्रु, बिरामी बोकेका एम्बुलेन्स तथा अन्य अत्यावश्यक र आकस्मिक सवारीलाई समेत निर्वाध गुड्न दिइनेछ।
अत्यावश्यक काममा हिँडेको पुष्टि भएमा त्यस्ता सवारीलाई समेत छाडिने महाशाखाले जनाएको छ।
पत्रकारका हकमा भने सूचना विभागबाट परिचयपत्र प्राप्त वा प्रेस पास लिएकालाई मात्र सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
महानगरीय प्रहरी महाशाखाका अनुसार आज बिजोर नम्बर प्लेटका सवारीहरु मात्रै गुड्न पाउनेछन्।
बैठकले सम्मेलनलाई नै मध्यनजर गर्दै बिहीबार र शुक्रबार उपत्यकाका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।