राजविराज– रक्षा बन्धनका दिन एक युवतीलाई सामूहिक बलात्कार गरेको घटनामा संलग्नध्ये थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न एक अझै फरार छन्।
पीडित युवतिको वयानका आधारमा शम्भुनाथ नगरपालिका ५ का २० वर्षीय विक्रम सरदार, २६ वर्षीय कृष्णकुमार साह, २७ वर्षीय मनोजकुमार राम, कञ्चनरुप नगरपालिका ११ का २४ वर्षीय हिरालाल साह र शम्भुनाथ नगरपालिका ७ का १८ वर्षीय राजकुमार भगतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका डिएसपी भावेश रिमालले वताए ।
पाँचै जनालाई जबरजस्ती करणी सम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट मंगलबार म्याद थप गरी कानुनी कारबाही अघि बढाएको उनले जानकारी दिए । घटनामा संलग्नमध्ये एक अझै फरार छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
सामूहिक बलात्कारकी पीडित युवतिको राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल स्वास्थ्य परीक्षण गराइएको छ ।
खडक नगरपालिकास्थित अर्नाहामा लाग्ने ‘राखी मेला’ भरेर फर्कने क्रममा आईतवार राति करिब ९ बजे युवतीको बलात्कार भएको हो। मादक पदार्थ सेवन गरेका ६ जना नियन्त्रणमा लिएर पालैपालो वलात्कार गरेको पीडितले जनाएकी छिन् ।
साथीसहित मेला भर्न गएका बेला अचानक पानी पर्न थालेपछि उनीहरु तितरवितर भएका थिए। एक्लै घर फर्किने क्रममा अर्नाहा र कठौनाको बीचमा पर्ने वसन्तपुर भन्ने स्थानमा बाटो छेकेर एकान्त स्थानमा लगी उनीहरुले बलात्कार गरेको पीडितको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।