शिक्षामा जताततै दलीयकरण भएका कारण हाम्रो शिक्षा तहसनहस भयो। प्राध्यापक, शिक्षक नेपाली कांग्रेसको सदस्य नै हुन नपाउने गरी छलफल गरौं। नेकपा एमालेसँग हुने प्रतिस्पर्धाका लागि हामीले जताततै कांग्रेस बनाउने होडबाजी चलायौं। जस्तो उदाहरणको लागि नेपालको अहिले तपाईं कुनै पनि विद्यार्थीलाई, शिक्षकलाई भेटेर सोध्नुभयो भने उसले के भन्छ- ‘नेपालको शैक्षिक क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको त्यहाँ भित्रको दलीयतन्त्र, दलीयकरण हो।’
जसरी उच्च शिक्षादेखि लिएर तलको विद्यालय शिक्षासम्म हामीले विद्यालय व्यवस्थापन समिति कांग्रेस बनाउनुपर्ने, हामीलाई क्याम्पस प्रमुख कांग्रेस बनाउनुपर्ने, हामीलाई उपकुलपति कांग्रेस बनाउनुपर्ने। हामीले फरक सोचेर होइन, हामीलाई के लाग्थ्यो भने त्यो कांग्रेस भयो भने संभवत: राम्रो हुन्छ भन्ने लाग्यो। तर, हाम्रो अनुभवले हामीलाई त्यस्तो होइन रहेछ भन्ने सिकायो। हामीले सबैतिर कांग्रेस बनाएको एमालेले एमाले बनायो भन्ने प्रतिस्पर्धाका लागि हो। जुन होडमा हाम्रो शिक्षा क्षेत्र तहसनहस भएको छ। मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।
कांग्रेसमा छलफल गरौं न, ‘किन त्रिभुवन विश्वविद्यालय लगायतको कुनै पनि विश्वविद्यालयको एउटा पनि प्राध्यापक अब नेपाली कांग्रेसको औपचारिक रूपमा नेपाली कांग्रेसको सदस्य बन्न पाउँदैन? किन नगर्ने छलफल? पार्टीभित्र यो बहस किन नगर्ने? त्यो प्राध्यापक लोकतन्त्रवादी हुन्छ। हामी त के खोजौं भने एउटा यस्तो प्राध्यापक होस्, जुन प्राध्यापकले विश्वविद्यालय असाध्यै राम्रोसँग पढाओस्, गज्जबको नाम कमाओस् अनि त्यो प्राध्यापकलाई कांग्रेसले गएर के भनोस् भने, ‘तपाईं त हेर्दाखेरी नै कांग्रेस जस्तो देखिनुहुन्छ, साह्रै राम्रो मान्छे हुनुहुन्छ। राम्रो पढाउनु भएको छ, योपटक हाम्रो वडामा आएर वडा अध्यक्ष, मेयर लडदिनुहोस्।’
पार्टीभित्र प्राध्यापक पनि चाहिएको छ, शिक्षक पनि चाहिएको छ, कर्मचारी पनि चाहिएको छ, सबै चाहिएको छ। हामीले पेशागत ठाउँबाट कर्मचारी पनि ल्याउने हो, शिक्षक पनि ल्याउने हो, बाहिरको मान्छे ल्याउने हो, पढेको मान्छे ल्याउने हो तर हामीले उनीहरूलाई अहिलेदेखि नै संक्रमित गरेर, अहिलेदेखि डामेर होइन। ‘तपाई जुन ठाउँमा हुनुहुन्छ, त्यो ठाउँमा उत्कृष्ट काम गर्नुहोस्, सेवा गर्नुहोस्, योग्यता पुर्याउनुहोस्। कांग्रेसको ढोका हजुरहरूको लागि हरदम खुल्ला छ। तपाईंले कुनै पनि बेला पार्टीको सदस्य लिएर चुनावको बेला ल्याटेरल इन्ट्रीबाट तपाईंहरू उम्मेदवार बन्न पाउनुहुन्छ। तपाईं झोला बोकेर म जस्तै बाल कांग्रेस, नेविसंघ हुँदै-हुँदै आउनु पर्दैन। तपाईं सिधै एकैचोटी आएर नेपाल सरकारको निजामती सेवामा सहसचिव हुनुहुन्थ्यो, तपाईं आउनुभयो, आफ्नो योग्यता देखाउनु भो, सबैलाई प्रभावित गर्नु भो, तपाईं हाम्रो नगरपालिकाको मेयर हुनुभो। आउनुस्! तपाईं शिक्षक हुनुहुन्थ्यो, शिक्षक छोडेर आउनु भो तपाईं आउनुस्,’ छलफल गरौं न।
किन नेपाली कांग्रेस पार्टी जहाँ पनि उपस्थित हुनुपर्ने? यसले हाम्रो पार्टीलाई बलियो बनाएको छ कि कमजोर बनाएको छ? छलफल गर्नु पर्ने बेला आयो।
नेविसंघ र नयाँ पुस्ताले गर्ने राजनीतिको सन्दर्भमा
म आजभोलि देख्छु, नेपाल विद्यार्थी संघको एउटा नेताले कहिँ कुनै ठाउँमा प्राध्यापक कुट्यो भन्ने समाचार आउँछ। नेपाल विद्यार्थी संघको नेताले कालो मोसो दल्यो भन्ने समाचार आउँछ। मलाई यो विषयले एकदम चिन्तित बनाएको छ।
मेरो कुरा मानेन भनेर म अर्काको शरीरमा गएर मोसो दल्न पाउँछु? कुनै पनि व्यक्ति प्राध्यापक होस् वा कसैलाई पनि होस्, मेरो कुरा मानेन, चित्त बुझेन भनेर मैले ऊमाथि गएर आक्रमण गर्न पाउँछु? पाउँदिन। यो कालो मोसो दल्ने, प्राध्यापक कुट्ने विषयको सन्दर्भमा कुनै किन्तु परन्तु हुँदैन। त्यो गलत हो।
यसो भन्दै गर्दा कतिपय सन्दर्भमा के हुँदो रहेछ भने, त्यो प्रश्न आफूतिर पनि फर्केर आउँदो रहेछ। कहिलेकाहिँ साथीहरूले मैले पुराना बोलेका कुराहरू फेरि एकपटक बाहिर लिएर आउनुहुन्छ। हामी आफैंले पनि यी कतिपय विषयको सन्दर्भमा समीक्षा गर्नुपर्ने छ। म आज ती समीक्षा गर्न चाहन्छु।
म पनि कुनै बेला विद्यार्थी राजनीतिमा थिएँ। मैले विद्यार्थी राजनीतिमा क्रियाशील भएको समय फरक थियो, राजाको शासन थियो, माओवादीको शासन थियो। बोल्न, हिंड्न, लेख्न पाउने कुरा प्रतिबन्धित थियो। केही बोल्यो, लेख्यो भने प्रहरीले लगेर थुन्थ्यो। दुई-दुई पटक राज्यद्रोहको मुद्दा खेपे, पचासौं पटक हिरासत जाने-आउने त स्वाभाविक कुरा भयो। पिटाई खाने, लड्ने, भिड्ने कुरा सामान्य कुराहरू भए। प्रतिरोधको राजनीतिको बेला थियो। त्यो प्रतिरोधको राजनीतिको बेला राजनीतिक माहोल मिलाउनु पर्ने थियो। त्यो राजनीतिको माहोल बनाउने बेलामा कतिपय हामीले केही अभ्यासहरू गर्यौं।
त्यो बेलामा त्यसका आफ्ना अप्ठ्याराहरू थिए भनेर म बहाना बनाउन चाहन्नँ। ती कतिपय कुराहरूलाई आजको दिनबाट फर्केर हेर्दै गर्दाखेरि जस्तोसुकै अप्ठ्यारो र प्रतिकूलतामा पनि गर्ने अरू विकल्पहरू हुन्थे। अप्ठ्यारोको बाबजुद पनि त्यो गर्न हुँदैनथ्यो। बोलीमा पनि तुच्छता ल्याउनु हुँदैनथ्यो। मैले हातले हिंसा कहिल्यै पनि गरिनँ, तर बोलीमा पनि ल्याउन हुँदैन थियो। प्रहरीले आक्रमण गर्दै गर्दा वा प्रहरीले बल प्रयोग गर्दै गर्दा त्यसको प्रतिरोध गर्यौं। अहिले सम्झिँदै गर्दा के लाग्छ भने त्यो पनि गर्न हुँदैन थियो।
ती कुराहरू जुनसुकै कारणले भएका भएता पनि ती कुराहरू गलत थिए, बोलेका कुराहरू पनि गलत थिए, भनेका कुरा पनि गलत थिए। कुनैबेला मैले बोलेका तुच्छ वचनहरू प्रति म क्षमा माग्न चाहन्छु। त्यसैले, म आज पार्टीको साथीहरू, विशेषगरी, नयाँ पुस्ताका तन्नेरी साथीहरूलाई भन्न चाहन्छु, २१ औं शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले, आफ्नो कुरा स्थापित गर्न तालाबन्दी र तोडफोड गर्ने होइन, बरु चर्को घाममा सत्याग्रह गरेर भोक हडतालमा बस्न तयार हुनुपर्छ। अब कांग्रेसले यो तरिकाबाट सोच्न थाल्नु पर्छ।
(काठमाडौं ४ मा भएको क्षेत्रीय सम्मेलनमा कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले राखेका विचारहरु)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।