काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि सुरु हुन गइरहेको विमस्टेक बैठकबारे प्रतिनिधिसभामा जानकारी गराएका छन्।
मंगलबारको संसद बैठकमा उनले सरकार बनेयताका कामबारे पनि जानकारी गराएका छन्। त्यसक्रममा उनले प्रतिपक्षी नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले कतिपय आवश्यक काम नगरेको र कानुन पनि नगरेकाले अहिले अन्योल जस्तो देखिएको बताए।
प्रधानमन्त्रीले मुलुकी ऐन, आवश्यक कानुन निर्माण, कर लगायतका विषयमा बोलेका थिए। उनले आफू नेतृत्वको सरकारलाई अधिनायवादी भनेर लाग्ने गरेको आरोपको पनि खण्डन गरे।
प्रधानमन्त्रीले बोलिसकेपछि सांसदहरुले उनलाई जिज्ञासा राखेका थिए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल विमेस्टेक सम्मेलन पाकिस्तानलाई एक्ल्याउने र चीनलाई आफ्नो सैन्य सामर्थ्य देखाउने भारतको रणनीति हुनसक्ने प्रति सचेत गराए।
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीले अघिल्ला सरकारले काम नगरेकाले दुःख पाएको भनेका प्रति असन्तुष्टि जनाए। उनले संविधान निर्माणपछि प्रधानमन्त्री ओली र उनका सहयात्रीले सरकार चलाएको समय जोड्दा ७५ प्रतिशत समय पुग्ने उनले बताए। 'त्यो समयमा गर्न नसकेको कामको जिम्मा लिन प्रधानमन्त्री तयार हुनुहुन्छ', थापाले प्रश्न गरे।
सञ्जयकुमार गौतमले सत्तापक्षका सांसदले नै आज महिला हिंसाका विरुद्धमा संकल्प प्रस्ताव राख्दै पारित भएको परिस्थिति भएको र महिला हिंसा बढिरहेकोमा प्रधानमन्त्रीलाई लाज लाग्दैन? भनी प्रश्न सोधेका थिए।
कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले आत्मसम्मान लोकतन्त्रको गहना हो भएको बताए। उनले कञ्चनपुरमा रक्तपिपासुहरुवाट निर्मला पन्त र सन्नी खुनाहरु लोकतन्त्र मागिरहेको बताए। 'लोकतन्त्रको चारित्रिक प्रमाणपत्र जनताले हरेक दिन आफ्नो प्रधानमन्त्रीबाट माग्छन्। इतिहासको कालखण्डबाट होइन', रिजालले भने।
प्रधानमन्त्रीले ओलीले केही सांसदलाई व्यक्तिगत र केहीलाई सामूहिक जवाफ दिएका थिए। सांसद गौतमप्रति लक्षित गर्दै भने, 'यस्तो असभ्य बोल्ने साथीहरु देख्दा लाज लाग्छ।'
प्रधानमन्त्रीले कुनै पनि भ्रष्टचार नसहिने प्रतिवद्धता व्यक्त गरे। उनले मूल्यवृद्धि केही वर्षकै न्युन भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।