लहान– गत २५ चैत्रमा तराईमा ‘हरवा–चरवा’हरूले ४ दिने ‘अधिकार यात्रा’ सम्पन्न गरेका थिए। १२ साउन २०७९ मा तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले ‘हरवाचरवा’ मुक्त घोषणा त गरे। तर हरवाचरवाले गिरहतको अन्यायबाट मुक्ति पाएनन्।
तराईका ८ जिल्लामा उनीहरूले थालेको अधिकार यात्राबारे रिपोर्टिङ गर्न हामी त्यहाँ पुगेका थियौँ।
सोही क्रममा हरवा–चरवा मुक्ति आन्दोलनका एक अभियन्तासँग हाम्रो भेट भयो। उनी थिए, लहान–१० का उमेश विसुन्खे। उमेश दलित जनकल्याण युवा क्लबका अध्यक्ष हुन्। उनीसँग हरवाचरवा आन्दोलन र आन्दोलनमा क्लबमा पुर्याएको योगदान बारे संवाद गरिएको थियो।
उमेशका बाले लामो समय गिरहतको जमिनमा काम गरेका रहेछन्।
उमेश बुझ्ने भएपछि गिरहतप्रति विद्रोही उनमा भाव पलाउँदै गए। उनी एसएलसी दिएसँगै हरवाचरवा मुक्तिको अभियानमा सरिक भए। उनी अभियानमा सक्रिय रहेसँगै उमेशको परिवार ‘हरवाचरवा’बाट मुक्त भयो।
उनले नेतृत्व गरिरहेको दलित जनकल्याण युवा क्लबले सिरहा लगायत तराईका विभिन्न जिल्लामा दलित ‘हरवाचरवा’को उत्थानमा महत्वपूर्ण कार्यक्रमहरू गर्दै आइरहेको छ।
लहान–१४को वस्तीपुरमा अवस्थित यो क्लबमा राजनीतिज्ञ तथा चिन्तक स्व. प्रदीप गिरिको योगदान पनि जोडिन्छ।
अभियानमा गिरिको साथ
प्रदीप गिरिको आश्रम नजिकै उभिएको छ, क्लबको भवन। विसं २०६५ सालमा प्रदीप गिरिले क्लबको भवनका लागि केही जमिन उपलब्ध गराएका थिए। उसो त ‘हरवाचरवा’ मुक्तिको आन्दोलनमा प्रदीप गिरि आफूहरूसँगै उभिएको उमेश सम्झन्छन्।
हरवाचरवा मुक्तिको अभियानमा प्रदीप गिरिले पटक पटक आवाज उठाएको उमेश सम्झन्छन्। क्लबलाई उनले प्रोत्साहन मात्र गरेनन्, स्थायी रुपमा जमिन उपलब्ध गराएर योगदान पनि गरे।
‘उहाँ २ महिनामा एक पटक आउनुहुन्थ्यो। हामीसँगै बसेर प्रशिक्षण दिनुहुन्थ्यो। तपाईहरूको यात्रामा मैले कहाँ सहयोग गर्नुपर्छ? भनेर सोध्नुहुन्थ्यो,’ उनी भन्छन्। हरवाचरवा मुक्तिका लागि उनले उठाएका आवाजले आफूहरूलाई पनि बल दिएको उनी सम्झन्छन्।
१३ भदौ २०७९ सालमा प्रदीप गिरिको निधन भयो। गिरिको निधन भएपछि क्लबमा आबद्ध सदस्यहरू गहिरो शोकमा डुबे। उमेश सम्झन्छन्, ‘त्यतिबेला हामीले हाम्रो अभिभावक गुमायौँ।’
सिरहामा यो क्लबको संगठन निकै मजबुत छ। उमेशका अनुसार यो क्लबमा अहिले ५० हजार मानिस जोडिएका छन्। सुरुमा फुसको घरबाट क्लब सुरु गर्दा १४ जना सदस्य थिए। यसको संस्थापक अअध्यक्ष विनोद विसुन्खे थिए।
त्यहाँका दलित र हरवाचरवाको जनजीवनमा प्रत्यक्ष जोडिएको यो क्लबले अहिले तराईका जिल्लामा ठूलो प्रभाव छाडेको छ।
उमेशको आफ्नै कथा
क्लबका अध्यक्ष उमेशले बाल्यकालमा गरिबी र अभाव मात्र झेलेनन्। जमिन मालिककहाँ काम गर्न जाँदा बाले खेपेको अन्याय र अपमान पनि महसुस गरे।
हरवाचरवा बस्दा चिसो रातमा होस् वा टन्टलापूर घाम, परवाह नगरी गिरहतको काम गर्नुपर्थ्यो। ‘बिरामी भएर गर्दिनँ भन्दा मुक्ति पाइन्न थियो। कुटपिट गर्ने, धम्क्याउने हुन्थ्यो। यस्तो घटना अधिकांश हरवाचरवाले भोगेका छन्,’ उमेश भन्छन्।
त्यो उनको लागि कहिल्यै सह्य थिएन।
उमेश ०६५ सालदेखि हरवाचरवा मुक्तिको आन्दोलनमा जोडिए। ‘त्यसअघिसम्म एउटा हरवाचरवा दलितले गिरहतको घरको मरेको पशुलाई उठाउनैपर्ने बाध्यता थियो। त्यतिबेला सम्पूर्ण दलितले यो हाम्रो पेसा हैन भनेर सिनो बहिष्कार आन्दोलन गरे। त्यो विद्रोहमा म पनि सामेल भएँ,’ उनी भन्छन्।
त्यो आन्दोलनालाई स्व.बलदेव रामले सप्तरीबाट नेतृत्व गरेका थिए।
जनकपुरमा त्यसताका पासवान थरका केटाले र झा थरकी केटीसँग अदालती बिहे गरे। ‘रातारात दलितलाई मारियो। त्यो घटनाले अझै मलाई विद्रोही बनायो। हामीले विद्रोह पनि गर्यौँ,’ उमेश भन्छन्।
विस्तारै आन्दोलन र विद्रोह उनीहरूले क्लबमार्फत् छेड्दै गए। विभेदविरुद्ध अनवरत आवाज उठाए। जमिनविहीनहरूको आवाज बन्दै गए। ‘सबै विभेदविरुद्ध हामी लाग्यौं। संगठित रुपमा विरोध गर्नुपर्छ भनेर विभिन्न ठाउँमा प्रचार गर्यौँ। आमा समूह, बालक्लब, युवा क्लब बनाएर समस्याको पहिचान गर्यौँ,’ उमेश भन्छन्।
त्यतिबेला समाजमा द्वन्द्व पैदा गरे भन्ने निहुँमा उनीहरूमाथि थुप्रै धम्की आए। ‘हामीसँग जोडिएका हरवाचरवालाई कुटपिट गर्न थालियो। यदि लाग्यौ भने कामबाट निकालिदिन्छु भन्ने धम्की दिइयो,’ उमेश भन्छन्।
०५७ सालमा उनीहरूले सामाजिक विकासका लागि यात्रा तय गर्नेबारे सोचे।
त्यतिबेला १४ जना युवा मिलेर जनकल्याण युवाक्लबको स्थापना गरे। ‘यसको मूल मुद्दा समाजमा रहेको कुनै पनि विभेदविरुद्ध थियो। विशेषगरी हरवाचरवा दलितले मुक्ति पाउनुपर्छ भनेर क्लबमार्फत् आन्दोलन सुरु गर्यौँ,’ उमेश भन्छन्।
त्यसयता उनीहरू निरन्तर आन्दोलनमा छन्।
यतिबेला क्लब हरवाचरवाहरूको मागलाई सम्बोधन गर्न राज्यलाई घच्घच्याउँदै आइरहेको छ। ‘सरकारले हावा तालमा मुक्ति घोषणा गर्यो। पुस्तौंपुस्तादेखि जोत्दै आएको हरवाचरवालाई तिमी आजबाट मुक्त भयौ भनेर भनियो। त्यसपछि कहिल्यै पनि नजोतेको कागज बनाइयो। कानुनले नै हरवाचरवालाई समस्या बनाइदियो,’ उनी भन्छन्।
अहिलेको समय हरवाचरवा एक वर्ष भन्दा बढी दिँदैन। यो कानुनले पनि हरवाचरवालाई समस्या बनायो। ‘अब आम हरवाचरवा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार उपलब्ध गराउनुपर्छ भनेर अभियानमा लाग्नुभएको छ। हामी सँगसँगै छौँ,’ उनी भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।