इनरुवा- नेकपा एमालेले सुनसरीबाट आसन्न चुनावका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ।
एमाले सुनसरी मातहतका कमिटीले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नामावली सिफारिस गरेको हो।
क्षेत्र नं १ बाट प्रकाश राई र जयकुमार राईलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ भने प्रदीप भण्डारीलाई प्रदेश सभा (क) सदस्यका लागि सिफारिस गरिएको छ।
एमालेका केन्द्रीय कमिटी सचिव, पूर्वमन्त्री एवं साबिक सुनसरी–६ का सांसद भीमप्रसाद आचार्य प्रदेश सभाको (ख) बाट सिफारिसमा परेका छन्।
निर्वाचन क्षेत्र नं २ बाट हालका सांसद रेवतीरमण भण्डारी, खेमराज पोखरेल, रामप्रसाद चौलागार्इं, रमेश श्रेष्ठ, डा बद्री विशाल पोखरेल र ओम कोइरालाको नाम प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिएको छ। यस क्षेत्रको प्रदेशसभा (क) बाट एमाले केन्द्रीय सदस्य धर्मराज निरौला, रामप्रसाद चौलागाईं, राजकुमार गिरी, डवलकुमारी चौलागाईं, बन्हुलाल चौधरीलाई प्रदेशसभा सदस्यका लागि सिफारिसमा परेका छन्।
प्रदेश सभा (ख) का लागि शम्भु आचार्य, पर्शुराम यादव, हरिनारायण चौधरी, शत्रुघन यादव, धिरामाया राई, निरा आचार्य, शंकरलाल चौधरी, राम कोइराला, खेमराज पोखरेलको नाम प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ।
क्षेत्र नं ३ बाट एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव भीम आचार्यले भगवती चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुने घोषणा गरिसकेकाले यस क्षेत्रबाट उनको एक्लो उम्मेदवारी लगभग पक्कापक्की भइसकेको एमाले उच्च स्रोतले जनाएको छ।
क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि जगदीश कुसियत, महफुज अन्सारी र रमेश श्रेष्ठको नाम सिफारिस गरिएको छ। प्रदेश सभा (क) बाट सदस्यका लागि केशव तिम्सिना, नन्दकुमारी राई, बद्रीनाथ घिमिरे, प्रदीप काफ्ले, कोषराज भट्टराई, डिवी शाह ‘शंकर’ तथा बाबुराम बरालको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।