काठमाडाैं- नेपालमा आयोजना हुँदै गरेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुकोे प्रयास (बिमस्टेक)को चौथौ सम्मेलनमा रोहिंग्या शरणार्थीको समस्या प्राथमिकताका साथ उठाउन पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आग्रह गरेका छन्। रोहिंग्या शरणार्थीहरू हाल बिमस्टेका सात राष्ट्रहरुमध्ये पाँच राष्ट्रहरुसँग सम्बन्धित छ।
रोहिंग्या समस्या समाधानका विषयमा बिमस्टेक सम्मेलनमा छलफल गर्नु पर्ने पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे बताउँछन्। रोहिंग्या समस्या कुनै एक देशको मात्र समस्या नभएको बताउँदै उनले यो बहुपक्षीय समस्या भएकाले सम्मेलनको अवसरमा छलफल यो विषयमा गर्नु पर्ने उनले बताए। उनले भने, ‘रोहिंग्या समस्याले बिमस्टेक क्षेत्रको ८० प्रतिशत भू–भाग समेटेकाले यो वियषमा गहन छलफल हुन आवश्यक छ।’ बिमस्टेकका सात राष्ट्रहरुमध्ये बंलादेश, भारत, म्यानमार, नेपाल र थाइल्याडसँग रोहिंग्या शरणार्थीको समस्या जोडिएको छ।
बिमस्टेकका सदस्य राष्ट्रहरुले यो सम्मेलनमा छलफल गर्ने विषयहरूमा कनेक्टिभिटि, गरिबी निवारण, व्यापार र लगानी, जलवायु परिर्वतन र जलविद्युत् सम्बन्धि एजेन्डालाई प्राथमिकता दिएको छ। गत साउन २६ गते बसेको बिमस्टेक सदस्य राष्ट्रका विदेश सचिवहरुको बैठककले एजेण्डाहरु तय गरेको हो। छलफलको एजेण्डामा यस क्षेत्रकै ठूलो समस्याको रुपमा देखिएको रोहिंग्या शरणार्थीहरुसँग सम्बन्धित विषय नसमेटिने भएपछि सर्वत्र चासो बढेको हो। ‘सम्मेलनको अवसरमा छलफल हुन नसके पनि रोहिंग्याको विषय १५ गते आयोजना हुने रिट्रिटको अवसरमा छलफल गर्न सकिन्छ’ पाण्डेले भने।
गत वर्ष भएको रोहिंग्या नरसंहारमा दोषी देखिएको भन्दै म्यानमारमा सैन्य प्रमुख लगायतका पाँच सैन्य अधिकृतहरुलाई कारबाही हुनु पर्ने संयुक्त राष्ट्रसंघले बताएको छ। म्यानमारको रखाइन प्रान्तमा बसोबास गर्दै आएका रोहिंग्यालाई संयुक्त राष्ट्र संघले उत्पीडित अल्पसंख्यक जनजातिहरुको सूचीमा राखेको छ।
गत वर्ष म्यानमारको रखाइन प्रान्तमा भएको दमनपछि रोहिंग्याहरू बंलादेश, भारत, नेपाल, थाइल्याड लगायत देशहरूमा शरण लिएर बसेका छन्। नेपाल स्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धि उच्च आयोगले जनाए अनुसार नेपालमा करीव सात सयको हाराहारीमा रोहिंग्या रहेका छन्।
भारतमा करीव चालीस हजार रोहिंग्या रहेको भारत सरकारले जनाएको छ। भारतको पश्चिम बंगाल राज्य, विहार र उत्तर प्रदेशमा रहेका रोहिङ्गाहरू काम खोज्ने शिलशिलामा २०१२ देखि नै नेपालमा आएका थिए। काठमाडौंको कपनस्थित राम मन्दिर नजिक बस्ने रोहिंग्या शरणार्थी बस्दै आएका छन्।
भारत सरकारले गत वर्ष नै सुरक्षा खतरा अौंल्याउँदै रोहिंग्यालाई देश निकाला गर्ने बताएको छ। भारतबाट निकाला भएको अवस्थामा खुल्ला सिमानाका कारण उनीहरु नेपाल आउने सम्भावना रहने हुँदा यसतर्फ ध्यान दिन सम्बन्धित क्षेत्रका विज्ञहरूले सरकारलाई सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।