काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क परेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रकै लागि विगतमा संघर्ष गरेको बताए।
'कतिपय साथीहरुले यो सरकार गठन हुनुअघि नै विभिन्न अधिनायकवादको बुख्याँचा गाड्दै हिँड्नुभयो, जनता तर्साउन। मैले भन्दै आएको छु, यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा राखेर दिएको होइन। दशकौं बलिदानपूर्ण संघर्ष गरेर लडेर हामीले नै हासिल गरेका हौं। तानाशाही व्यवस्थाको कालकोठरीमा सँगसँगै दिन बिताएका साथीहरुले मात्रै होइन, पञ्चायत गएपछि स्कुल भर्ना हुनेहरुले पनि मेरो पार्टीको नेतृत्वमा रहेको सरकारसँग लोकतन्त्रको सर्टिफिकेट मागेको देख्दा छक्क पर्छु कहिलेकहिले', प्रधानमन्त्रीले भने।
'मैले हाम्रो लोकतन्त्रलाई अराजकता र गञ्जागोलमा होइन, थितिमा चलाऔं भन्दा अधिनायकवाद भन्ने मित्रहरुले नै कतैकतै 'लि क्वान युले सानो मुलुक कसरी समृद्ध बनाए सिक, प्रधानमन्त्री सिक' भन्दै भाषण गरेको सुन्छु', प्रधानमन्त्री ओलीले भने, 'सारा जीवन लोकतन्त्रका निम्ति खर्च गरेको हुनाले अलिक बढ्दै मोह र स्नेह र आशक्ति पनि हुन सक्छ। त्यसकारण म विकासका लागि लि क्वान यु जति कठोर हुन सक्दिनँ। म लोकतान्त्रिक ढंगले नै अघि बढ्छु। मेरो पार्टीको नीति पनि त्यही हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।