‘पीपला’ सार्वजनिक भएको भोलिपल्ट अनौपचारिक भेटमा लेखक विमल नेपालले ठट्यौली शैलीमा भने, ‘मेरो दोस्रो जीवनको पहिलो उपन्यास।’
ठट्टामा ठट्टा मिसाउँदै मैले सोधें, ‘अनि पहिलो जीवनको पहिलो उपन्यासचाहिँ...?’
‘त्यो त पूरा हुनै बाँकी छ...,’ उनले हाँस्दै भने, ‘तर आउन चाहिँ आउँछ।’
हुन त विमल ‘पीपला’ लेख्न बसेको क्षणलाई नयाँ जीवनको सुरुवात मान्छन्। अघिल्लो वर्ष उनी अचानक हृदयघातले थलिएका थिए। समयमै पाएको उपचारका कारण उनी मृत्यु शय्याबाट फर्किए। ‘साथीहरूले त मृत्युको मुख हैन घाँटीमै पुगेर फर्किएको भन्छन्,’ उनी पुन: ठटयौली सुनिन्छन्।
अफिसबाट घर फर्केर विमल आराम गरिरहेका थिए। अचानक छाती चसक्क दुख्यो। उनले लामो श्वास ताने। एक घुड्को पानी पिए। कम भएन। दुखाइ बढ्दै गयो, सहन मुस्किल पर्यो। त्यहीबेला उनलाई अनुभूत भयो, ‘मलाई हृदयघात भयो।’
केहीबेरमा साथी शान्ति नेपाल र केशव तिमल्सिनासँग भेट्ने योजना थियो। असह्य पीडामा पनि बल गरेर कोठाबाट निस्कँदै साथीहरूलाई कल गरे, ‘ मलाई हार्टअट्याक भएजस्तो छ।’
साथी शान्ति र केशवले हतार हतार ट्याक्सी बोलाए। विमललाई सिभिल हस्पिटल लगे। ‘मलाई हस्पिटल लगेको थाहा छ। डाक्टरले हार्टअट्याक भयो भनेको थाहा छ। त्यसपछि केही थाहा भएन,’ विमल सुनाउँछन्।
होस आउँदा उनी सामान्य अवस्थामा फर्किसकेका थिए।
त्यसपछि उनले ३ महिना आराम गरे। अब घरदेखि अफिस र अफिसदेखि घरसम्मको सेडियुल बदलिसकेको थियो। किनकि सहजै काममा फर्कनसक्ने अवस्था पनि थिएन। केही महिना आराम गरेपछि उनले आफ्नो ल्यापटपमा भएको उपन्यासको ड्राफ्ट पल्टाए।
३५ हजार शब्द लेखिसकिएको उपन्यासमा थुप्रै काम गर्न बाँकी थियो।
‘त्यसको विषयवस्तु गम्भीर थियो। त्यो पूरा गर्न धेरै नै सिरियस हुनुपर्थ्यो। धेरै नै खोज गर्नुपर्थ्यो। त्यसको लागि स्वास्थ्यले पनि साथ दिन्न थियो,’ विमल सुनाउँछन्, ‘त्यसपछि अर्को कथा छनोट गरेँ। जुन विषय निकै वर्षदेखि मनमा गढिरहेको थियो।’
०००
‘पीपला’ युद्धपछिको स्थितिको सन्दर्भ हो। सिन्धुपाल्चोकमा जन्मिएका विमलले जनयुद्धलाई नजिकका मान्छेहरूको भोगाइबाट नियाँलेका छन्। उनी हुर्कँदाको त्यो त्रासदीपूर्ण समय महसुस गरेका छन्।
न्युज२४ टेलिभिजनमा काम गर्दा उनले ३/४ वटा रिपोर्टिङ ‘अयोग्य लडाकु’को बारेमा गरेका थिए। ‘५/७ जनाले आत्महत्या नै गर्नुपरेको दर्दनाक कथा मैले पाएको थिएँ। कतिपय यौन व्यवसायमा संलग्न पनि भेटें। सबै कुराले मलाई छोइरहेको थियो,’ विमल भन्छन्, ‘माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको औचित्य पुष्टि हुन सकेन भन्ने लाग्यो। फुर्सदमा यही कथामाथि उपन्यास लेख्ने निर्णय गरेँ।’
द्वन्द्वमा सहभागी पात्रहरू, जो शान्ति सम्झौतापछि ‘अयोग्य’ ठहरिए। समाजमा पुनर्स्थापित हुन सकेनन्। ती पात्रबारे उनले विभिन्न समयमा लेखिरहेका थिए। ती हरेक पात्रहरूलाई उनले ‘पीपला’मा जोडे। ‘यो उपन्यास केन्द्रीय पात्र पीपलामार्फत् उन्दै उन्दै बुनेको माला हो,’ उनले भने।
उपन्यास पीपला र समीरको प्रेमकथा पनि हो। उनीहरू सँगै स्कुल जान्थे। उनीहरूबीचको आत्मीयता सुन्दर थियो। एकदिन पीपलालाई स्कुलबाट माओवादीहरूले लिएर जान्छन्। त्यही दिन स्कुल नगएका कारण समीर जोगिन्छ।
त्यो दिन त जोगियो तर पटक पटक जोगिन मुस्किल थियो। त्यही कारण ऊ सहर पस्छ। सहरमा पत्रकार र लेखक बन्ने सपना बुनिरहेको समीरले भोग्ने अभाव र बेरोजगारीपनाको कथा उपन्यासमा छ।
द्वन्द्वपछि समीर र पीपलाको भेट होला त? त्यसका लागि उपन्यास पढ्नुपर्छ।
०००
उपन्यास आइसकेपछि विमललाई निकै हलम भएको छ। यसअर्थमा कि लेख्दैन भनेर आशा मार्नेहरू पुन: खुसी भए। ‘उपन्यास यो जुनीमा कहिले आउँछ?’ भनेर व्यंग्यसहित सोध्ने साथीहरूलाई दिने जवाफ मिल्यो।
४ वर्षअघि एउटा मूलधारको मिडियामा राजीनामा दिएको बेला विमल फुर्सदिलो भए। फुर्सदको बेला उनलाई कवि साथी निर्भीकजङ्ग रायमाझीले सुझाए, ‘अब दायाँ बायाँ नलागी उपन्यास लेख्नु दाइ। तपाईंसँग कन्टेन्ट पनि छ। सामर्थ्य पनि।’
निर्भीकले पटक–पटक सुझाएपछि उनैले विमलको भेट इन्डिगो इन्कका प्रकाशक विष्णु कुमार पौडलसँग गराइदिए। विष्णुकुमारले अग्रिम ५० हजार पैसा विमलको हातमा थमाइदिए। ‘पैसा आउने बाटो बन्द भएको थियो। उपन्यासचाहिँ लेख्दै गरौँला। खर्च चाहिँ टार्दै जानुपर्छ भन्ने लाग्यो,’ विमल हाँस्दै सुनाउँछन्।
केही समय निरन्तर उपन्यासमा लागिरहे विमल। तर फेरि अर्को मिडियामा जागिर सुरु गरेपछि लेखिरहेको उपन्यास थन्कियो।यसपालिचाहिँ हलचल नभई उनी लागिपरे।
गत शनिबारबाट चाहिँ उनको ‘पीपला’ अब हर पाठकको भयो।
उपन्यास लेखिरहँदा ‘जनयुद्ध’को नेतृत्व गरिरहेका प्रचण्डसँग उनलाई खुब रिस उठ्यो।
विमलले यसबीचमा पनि थुप्रै पात्रहरू भेटेका थिए, सशस्त्र जनयुद्धको विश्रामपछि जसको जीवनमा झन् भयानक युद्ध चलिरह्यो। जुन अहिलेसम्म पनि कायम छ।
उपन्यास सार्वजनिक गर्ने बेलामा पनि उनले प्रत्यक्ष भेटेका क्रान्तिकारी पात्रहरू सम्झे। ती वास्तविक योद्धा कतै छुटिसकेका छन्। ‘गेरुवस्त्र लगाएर पूजा गर्ने अवस्थामा पुगेका प्रचण्डभन्दा उनीहरू निकै गुणा क्रान्तिकारी थिए। तर उनीहरूको जीवन कहाँ छ, प्रचण्डको कहाँ,’ विमल चिन्तित मुद्रामा भन्छन्।
उनको ‘पीपला’ तिनै पात्रहरूको दु:खको दस्ताबेज हो। जसले बाटो बिराउने नेतृत्वलाई बन्दुकको नाललेझैं झोसिरहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।