काठमाडौं– बिहीबार र शुक्रबार काठमाडौंमा हुने बिमस्टेकको चौथो सम्मेलनका कारण आजदेखि नै राजधानीको सडक प्रभावीत हुने छ। सम्मेलनको पहिलो बिशिष्ट अतिथीका रुपमा म्यानमारका राष्ट्रपति विन मिन्ट आज नेपाल आउँदै छन्।
दिउँसो करिब तीन बजेको समयमा उनी आइपुग्नेछन्। उनको सवारीको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडक खाली गराइनेछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उनको सवारीको समयमा १० देखि १५ मिनेटसम्म बाटो खाली हुनसक्छ। जसकारण सो रुट प्रयोग गर्ने सर्वसाधरणले समस्या भोग्नेछन्। म्यानमारको भ्रमण द्विपक्षीय समेत भएकाले उनी २ दिनअघि नै नेपाल आउन लागेका हुन्।
बुधबार श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना र भुटानका सरकारका सल्लाहकार रहेका प्रधानन्यायधीश छिरिङ वाङडचु आउने छन्। बुधबारदेखि त सवारी व्यवस्थापनका लागि जोर–बिजोर प्रणाली लागू गरिएको छ। १३ र १५ गते बिजोर तथा १४ गते जोर नम्बर भएका सवारी साधन चलाउन पाइनेछ। मोटरसाइकलको हकमा पनि यो प्रावधान लागू हुने महानगरीय ट्राफिक महाशाखाका एसएसपी बसन्त पन्तले बताए। नियम नमान्ने सवारी साधनलाई नियन्त्रणमा लिन महाशाखाले निर्देशन दिएको छ।
त्यस्तै, सम्मेलन सुरु हुने दिन अर्थात् बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा र बंगलादेशी प्रधानमन्त्री शेखर हसिना आउनेछन्। उनीहरुमध्ये भारतीय प्रधानमन्त्री मोदी र थाइल्याण्डका चान–ओचा बिशेष विमानमार्फत आउँनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।