काठमाडौं- हिसान एडुफेयर (शैक्षिक मेला)मा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेको छ। नियम विपरीतका गतिविधि भइरहेको भन्दै महानगरले कार्यक्रममा रोक लगाएको हो।
बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा भइरहेको शैक्षिक मेलामा स्कुलका बारेमा प्रचारका साथै शुल्कका विषयमा समेत प्रचार गरिएको भन्दै महानगरले रोक लगाएको छ।
शिक्षा मन्त्रालयबाट अनुमति लिएर उक्त मेला गरिएको भनिएको छ। महानगरपालिकाको समेत अनुमति लिनुपर्ने नियम भए पनि बिहीबार ढिलो गरी बोधार्थ बुझाइएको थियो। अनुमति लिँदा स्कुल र त्यसको शुल्कका विषयमा कुनै छलफल नगर्ने उल्लेख भए पनि त्यहाँ पुग्दा भर्ना नै लिइएको पाइएको महानगरले जनाएको छ।
एसईईको रिजल्ट नै नआई छुटका नाममा भर्ना लिन थालिएकाले रोक लगाइएको बताइएको छ। हिसानले एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरेको जनाएको थियो।
असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए। उनीहरुले विद्यार्थीलाई शिक्षाका विषयमा भन्दा पनि आफ्नो विद्यालयका विषयमा प्रचार गर्ने अस्त्र उक्त मेलालाई बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।