राजविराज– सप्तकोसी नदीको पानी गाउँ पसेपछि सोमबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका २ वटा वडा डुबानमा परेका छन्।
वडा नं ८ र १२ का करिब १२५ घर डुबानमा परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ। राति करिब ८ बजे पसेको पानीले नगरपालिका कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेका छन्। भारतले कोसी ब्यारेजभन्दा मुनि पाइलट च्यानल बनाएर पानी पश्चिमतर्फ फर्काइदिएका कारण सामान्य अवस्थामै पानी गाउँ पसेको स्थानीले जनाएका छन्। बाँध निर्माण भइसकेपछि सोमवार च्यानलको प्रयोग गरेर भारतीय अधिकारीहरुले आफूखुसी पानी पश्चिमतर्फ फर्काएको उनीहरुको आरोप छ।

सप्तरीका डिएसपी भावेश रिमालले पनि पानीको बहाव बढेर वा वाँध भत्किएर पानी पसेको नभई कोसी ब्यारेजभन्दा मुनितिर भएको च्यानलकै कारण पानी गाउँ पसेको जनाए। ‘गाउँमा पानी पस्दा कोसीको बहाव १ लाख ७० हजार क्यूसेक मात्रै थियो,’ रिमाल भन्छन्, ‘यसअघि अढाई देखि ३ लाख क्युसेक कोसीको बहावमा पनि नपसेको पानी सामान्य अवस्थामै गाउँ पस्यो।’
डुबानमा परेका बासिन्दालाई राति नै सुरक्षित गरिएको रिमालले जानकारी दिए। मंगलबार बिहानसम्म कोसीको बहाव अझै घटेकोले डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। ‘कोसीको पानी घटेको छ, गाउँलेहरु पनि सुरक्षित छन्,’ उनले थपे, ‘तर, करिब १२५ घर–आँगनमा १ फिट जति पानी जमेको छ।’

कोसीको पानी फेरि गाउँ पस्न नदिन र गाउँको सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत समन्वय गर्ने कार्य भइरहेको डिएसपी रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।