इटहरी– सुनसरीको बराहक्षेत्र नगरपालिका ८ कि एक १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बालिकाको परिवारकै छिमेकी ३६ वर्षका लालबहादुर बस्नेतले चकलेट दिने बहानाले फकाउँदै बारम्बार बलात्कार गर्ने गरेको बालिकाका परिवारको आरोप छ।
बस्नेत गत बिहिबार राती ९ बजे बालिकाको घरमा प्रवेश गरेर जवर्जस्ती गर्ने प्रयास गरेपछि घटना बाहिर आएको हो । बालिकाकी आमा र बहिनीले थाहा पाएपछि बस्नेत घटनास्थलबाट फरार भएका थिए । प्रहरीले खोजी कार्य तीव्र पारेपछि उनी आफैँ इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा आत्मसमर्पण गर्न पुगेका थिए ।
'यसअघि पनि घरमा कोही नभएको मौका छोपी बालिकालाई फकाएर बारम्बार बलात्कार गरेको हुन सक्छ,' बालिकाकी अामाले भनिन्। उनले ‘कसैलाई भनिस् भने परिवार नै सखाप पार्छु’ भन्ने धम्की दिने गरेको पीडितकी आमाले बताएकी छिन् । बालिकाको बुवा भने घरायसी कामले पहाड बस्दै आएका छन् । घरमा बालिकाको आमा र बहिनी मात्र बस्दै आएका छन् । घटनापछि पनि बस्नेत परिवारबाट धम्की दिने काम नरोकिएपछि घर छाडेर बस्नेत छोरी सहित माइतीमा बस्न थालेकी छिन् ।
पीडितका मामा धन बहादुर राउतका अनुसार घरको गार्इबस्तु हेर्न जाँदा समेत बस्नेतले कुटपिट गर्ने र मार्ने धम्की दिने गरेका छन् । प्रहरीलाई बारम्बार जानकारी गराएपनि वास्ता नगरेको राउतको भनाई छ । उनले भने 'प्रहरीसँग भान्जीको बलात्कारको मेडिकल रिपोर्ट माग्दा समेत दिएन।'
बालिकाको स्वास्थ्य सामान्य रहेपनि रातको समयमा झस्किने र चिच्याउने गरिरहेको उनले जानकारी दिए । ‘घटनाको बिषयमा गाउँलेहरु पनि बस्नेतको पक्षमा देखिएका छन्,’ राउतले भने, ‘हामी पीडितको पक्षमा कोही बोल्दैन।'
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जीवन तामाङले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । मेडिकल रिर्पाेट आउन अझै समय लाग्ने भएकाले बुझेर मात्र आफूले बोल्न सक्ने उनको भनार्इ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।