नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।
प्रदेश नं ४ को नवलपरासी पूर्व (बर्दघाट–सुस्ता) क्षेत्र नं १ बाट उनको नाम सिफारिस भएको हो।
पार्टीको प्रभावशाली नेताका रुपमा मानिने कोइरालालाई यस क्षेत्रको गौरवका रुपमा उम्मेदवारी सिफारिस गरिएको पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले जानकारी दिए। कोइराला २०६४ र २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसद समेत हुन्। बिपीपुत्र भएकै कारण डा कोइराला कांग्रेसको राजनीतिमा प्रभावशाली नेताका रुपमा मानिँदै आएका छन्।
यस्तै दुईदुई पटकसम्म गृह राज्यमन्त्री एवं हाल पार्टीका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल प्रतिनिधिसभाका लागि नवलपरासी पश्चिम क्षेत्र नम्बर–२ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्र १ बाट देवकरण प्रसाद कलवार पनि सिफारिसमा परेका छन्।
प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित दुई जिल्लामा कायम भएका नवलपरासीबाट प्रदेश र प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी कूल १७२ जनाको नामावली केन्द्रमा सिफारिस गरिएको नेपाली कांग्रेस नवलपरासीका उपसभापति अर्जुनकुमार पोखरेलले जानकारी दिए।
जिल्ला टुक्रिएपछि बर्दघाट–सुस्ता पूर्व प्रदेश नं ४ (नवलपुर क्षेत्र) बाट ११८ र पश्चिमतर्फको प्रदेश नं ५ (परासी क्षेत्र) बाट ५४ जनाको नाम सिफारिस गरिएको हो।
पूर्व र पश्चिममा दुईदुई गरी चार निर्वाचन क्षेत्र छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।