दाङ- थारु संस्कृतिका अध्येता, संस्कृतिविद् पूर्व राज्य मंत्री महेश चौधरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
दंगीशरण गाउँपालिका–४ बैवाङ स्थायी घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर १७ बेलभारमा बस्दै आएका चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो।
उच्च रक्तचाप, हर्निया तथा कलेजोसम्बन्धी स्वास्थ्य समस्याबाट पीडित चौधरीको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ।
२००८ सालमा दाङको बैबांगमा जन्मिएका चौधरीले भूगोल विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। उनले २०३५ सालदेखि दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । तत्कालीन नेकपा मालेको नीतिअनुसार प्राध्यापन छोडेर २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेका चौधरी पछि नेकपा एमालेको तर्फबाट २०४८ मा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री बनेका थिए।
उनले ‘द हिडन ट्रेजर अफ द लो ल्याण्ड नेपाल’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, थारू भाषाको गीति नाटक ‘छारा’, थारू भाषाको ‘लिरौसी व्याकरण’ लगायतका पुस्तक लेखेका छन्।
कवि तथा समालोचक डा अमर गिरीले स्वर्गीय चौधरी थारू भाषासाहित्यको धरोहर भएको बताए। ‘थारू भाषासाहित्यसँग सम्बन्धित उहाँका महत्त्वपूर्ण कृतिहरू प्रकाशित छन्। उहाँले अन्य महत्त्वपूर्ण विषयमा पनि कलम चलाउनुभएको छ। उहाँ एक विशिष्ट साहित्यिक एवम् प्राज्ञिक व्यक्तित्व हो,’ गिरीले भने।
त्यस्तै पूर्वमन्त्री तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले महेश चौधरीसँग आफूले दाङमा कक्षा सातदेखि सँगै पढेको स्मरण गरे।
‘हामीले संविधान सभामा पनि सँगै काम गर्यौं। राजनीतिक रुपले अलगअलग विचारधारा भए पनि उनी मेरा असल मित्र हुन्,’ मजगैयाँले भने, ‘दाङको सुकौरामा (थारु राजा) दंगीशरण सम्बन्धी तथ्य पत्ता लगाउन उत्खनन गर्नुका साथै थारु साहित्य र संस्कृतिको खोज र प्रवर्द्धनमा उनको ठूलो योगदान छ। देशले एक चिन्तनशील, सिद्धान्तनिष्ठ, अनुशासित र लगनशील व्यक्तित्व गुमाएको छ।’
नेकपा एमाले दाङले पूर्व राज्यमन्त्री महेश चौधरीको निधनप्रति दु:ख व्यक्त गरेको छ । दाङको बैबांगस्थित बबई घाटमा बिहीबार बिहान उनको अन्त्येष्टि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।