कालिकोट– कालिकोटमा रोकेर राखिएको जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। रास्कोट नगरपालिका २ सेरा बजारमा रोकेर राखिएको ग ३ च ४६१० नम्बरको जिप एक्कासी ब्याक भइ सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको कालिकोट प्रहरीले जनाएको छ।
दुर्घटनामा रास्कोट नगरपालिका १ का ४३ वर्षीय मानबहादुर शाही र सोही ठाउँकी ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सर्वराज बमले जानकारी दिए।
दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही गम्भीर घाइते भएकी छन्। जिप सेरा बजारबाट कालिकोट सदरमुकाम मान्मतर्फ जाँदै गरेको निरीक्षक बमले जानकारी दिए।
जिप ‘न्युट्रल’मा राखेर चालक गाडी बाहिर रहेको अवस्थामा दुर्घटना भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।