काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
तराई–मधेसका क्षेत्रमा गर्भी अझै बढ्ने देखिन्छ। काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको तराई भू-भागमा, मुख्यत: मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी तापक्रम मापन भएको छ।
तराईका भू-भागहरूमा आगामी सोमबारसम्म नै तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आज (बिहीबार) दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।