भीमदत्तनगर- कञ्चनपुरको भीमदत्तनगरमा हटाइएको कर्फ्यु राति पुन: जारी गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालयले भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा कर्फ्युको समय हेरफेर गरेको हो। आज साँझ ६ बजेदेखि मंगलबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु लगाइने निर्णय भएको छ।
यसअघि स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु लगाउने सूचना जारी गरेको थियो। जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए।
अहिले महेन्द्रनगर बजार खुलेसँगै बजारमा चहलपहल बढेको छ। शैक्षिक संस्था भने आज पनि बन्द छन्।
भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि यहाँको स्थिति अशान्त बनिरहेको छ। स्थानीय प्रशासनले गत शुक्रबारदेखि कर्फ्यु लगाउँदै आएको छ।
बालिका पन्तको हत्यामा वास्तविक दोषी पत्ता लगाउनुको साटो नक्कली अभियुक्त पक्राउ गरिएको भन्दै प्रदर्शनहरु भइरहेका छन्। प्रदर्शनकै क्रममा कञ्चनपुरमा सन्नी खुन्नाको प्रहरीको गोली लागी मृत्यु भएको थियो।
यो घटनापछि जनता थप आक्रोशित हुने भएकाले प्रशासनले कर्फ्यु लगाएको हो। अवस्था साम्य नहुन्जेलसम्म समय हेरफेर गरी कर्फ्यु जारी हुने प्रशासनले जनाएको छ।
कञ्चनपुर, डडेल्धुरा लगायतका अन्य जिल्लामा पनि दोषी पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन माग गर्दै प्रदर्शन हुने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।