काठमाडौं– आज जुन ५ तारिख अर्थात् विश्व वातावरण दिवस। संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।
नेपालमा पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वातावरण संरक्षण र प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट वातावरण दिवस मनाउन आग्रह गरेको छ।
वातावरण दिवसको अवसरमा शुभकामना सन्देश राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। ‘मानव जातिको महत्वकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषणको चुनौती बनेको छ,’ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
राष्ट्रपति पौडेलले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्लास्टिक प्रदुषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी वातावरण दिवस मनाउन गइरहेको उल्लेख गरेका छन्।
‘प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ। अर्कोतर्फ, यसको अत्याधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।
नेपालमा प्लाष्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्याहरूसँग जुध्न वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लगिने प्रधानमन्त्रीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।