काठमाडौं- चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भ्रमण फलदायी भएको बताएका छन्।
शनिबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने बताए। त्यसका लागि राम्रो वातावरण बनाउनु आवश्यक रहेको उनको भनाइ छ।
उनले भारतीय पक्षसँग ईपीजीको विषयमा कुराकानी भएको बताए। ‘ईपीजीको कुरामा हामी सबैको चासो छ। मैले आफ्नो ढंगले कुरा गरेको छु’, उनले भने, ‘तर, यो विषयलाई अहिले बढी उचालेर आर्थिक र दुई पक्षीय सहयोग विस्तारको जो परिणाममुखी वातावरण बनेको छ। त्यसलाई बिगार्नु उचित थिएन। हामीले जुन तरिकाले कुरा गर्नुपर्ने हो, त्यो तरिकाले कुरा गरिएको छ।’
उनले विस्तारै ईपीजीको प्रतिवेदन पनि बुझ्ने काम हुने दाबी गरे। ‘जुन विश्वासको वातावरणमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको छ। त्यो वातावरणलाई सहज बनाउँदै लैजाँदाखेर सबै चिज हुँदै जान्छ भन्ने मलाई विश्वास छ’, उनले भने।
उनले आफूले भारतीय संसद् भवनमा राखिएको नयाँ नक्साको विषयमा पनि कुराकानी गरेको बताए। कुराकानी गरेको भए पनि बहस भने नगरेको प्रचण्डले बताए। नक्सामा नेपालका क्षेत्र पनि समेटिएको भन्दै नेपालमा आलोचना भइरहेको छ।
‘नक्साको कुरा पनि मैले राख्नुपर्ने ठाउँमा राखेँ। यति बुझ्नुहोला। उहाँहरुको भनाइ चाहिँ यो सांस्कृतिक नक्सा हो, राजनीतिक होइन भन्ने छ। त्यही विषयमा धेरै ठूलो बहस गरेर गइएन। त्यति मात्रै हो’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।