काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निर्देशन दिएको छ। पहिलाको निर्णय कार्यान्वयन गरी अवस्थामा सुधार ल्याउन महानगरपालिकाले यस्तो सूचना जारी गरेको हो।
महानगरपालिकाले यसअघि नै काठमाडौं महानगर क्षेत्र भित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका लागि सरोकारवालासँगको बैठकबाट निर्णय गरेको थियो।
तर, बैठकले निर्णय गरिसकेपछि पनि अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको महानगरले जनाएको छ।
महानगरले उक्त निर्णय कार्यान्वयनका लागि सरोकारवाला सबैलाई पुन:अनुरोध गरेको हो। साथै महानगरले धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनहरुको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध समेत गरेको छ।
महानगरले यो सूचनाको बर्खिलाप गर्ने जोकोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने चेतावनी समेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।