काठमाडौं- चार दिने भ्रमणका लागि बुधबार भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बेलुका स्वदेश फर्किँदैछन्। शनिबार मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्ली आएर काठमाडौं फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान इन्दौर पुगेका थिए। त्यहाँको महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए। साथै, इन्दौरको फोहर व्यवस्थापन केन्द्र पनि अवलोकन गरेका थिए। शुक्रबार राति उनी इन्दौरको होटल मेरियटमा बसेका थिए।
बिहीबार उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु तथा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गरेका थिए। शुक्रबार नेपाल र भारतीय पक्षबीच सात वटा सम्झौता भएको थियो। त्यसपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा विभिन्न ६ वटा प्रोजेक्टको उद्घाटन गरिएको थियो।
बुधबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी भारतको दिल्ली प्रस्थान गरेका हुन्। विमानस्थलमा प्रचण्डलाई भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्। त्यसै दिन बेलुका उनले भारत भ्रमणको पहिलो दिनको पहिलो भेटघाट स्वरुप उनले होटलमै सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका थिए।
प्रचण्डसँग परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक योजना मन्त्री प्रकाश ज्वाला र उद्योग मन्त्री रमेश रिजाल पनि दिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री नेतृत्वको भ्रमण टोलीमा झन्डै १२० जना सहभागी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।