काठमाडौं- ज्यानसम्बन्धी कसुर अपराधका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका–१३ बस्ने ५१ वर्षीय जगदीश पासवानलाई घटनाको १३ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
गोलबजार बस्ने रामविलाश यादवले गाउँमा नराम्रो काम गर्दै हिँडेको भन्ने विषयलाई लिएर छलफल गराउने भन्ने कुरामा दुवै पक्षबीच भएको विवाद भएको थियो।
त्यसपछि रामले २०६७ वैशाख २८ गते राति गोली प्रहार गर्दा गोलबजार नगरपालिका–१३ बस्ने बेचन पासवानलाई हातमा र उनका दाजु नथुनी पासवानलाई छातीमा गोली लागेको थियो।
गोली लागेपछि नथुनी पासवानको घटनास्थलमै मृत्यु भएको थियो। जगदीशले रामलाई कुटपिट गर्दा रामको समेत मृत्यु भएको घटना अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले घटनामा संलग्न जगदीशलाई गोलबजार काशीपुर सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो।
उनलाई थप आवश्यक कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।