काठमाडौं- अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ।
राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवश शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाइरेक्टर मिङ्मा डेबिड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गरे।
साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गरे।
उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसीबीको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिनेछ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिनेछ।
समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गरे।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।