काठमाडौं- शान्ति प्रक्रियाका बाँकी रहेका काम टुंग्याउने विषयमा चीन सरकारले चासो देखाएको छ। शुक्रबार माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चिनियाँ कम्युनिष्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमण सकेर फर्किएको प्रतिनिधिमण्डलको पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाले यस्तो बताएका हुन्।
उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कुरामा चीन सरकार आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता भ्रमणका क्रममा गरेको बताए।
पूर्वसभामुख सापकोटाले चीन सरकारबाट धेरै कुरा सिक्न बाँकी रहेको बताए। उनले चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहार्द्र र घनिष्ठ बनाउँदा विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। उनले भेटमा चीन सरकारको तर्फबाट विभिन्न प्रतिनिधिहरुले नेपालका समस्या खुला रुपमा राख्नसके सहयोग गर्न सहज हुने प्रतिक्रिया दिएको बताए।
‘हामीले चीन सरकारबाट धेरै कुरा सिक्न सक्छौँ । चीन र नेपाल सम्बन्धलाई मैत्रीपूर्ण बनाउन, सौहार्द्र र घनिष्ठ बनाउँदा नै हामीले विश्व राजनीतिमा महत्वपूर्ण भूमिका खेल्न सक्छौँ। विश्व शान्तिका लागि चीनले जो पहल गरिरहेको छ, यसमा हाम्रो पनि स्वभाविक रुपमा पहलकदमी हुनुपर्नेछ। शान्ति प्रक्रिया लगायतका कुराहरु पनि महत्वपूर्ण विषयका रुपमा अघि आएको हुनाले त्यस सम्बन्धमा व्यापक, विस्तृत छलफल भएको छ,’ सापकोटाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।