काठमाडौं- कैलालीको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भीडले दुर्घटनाको जोखिम बढाएको छ। पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेहरुको भीडका कारण दुर्घटना बढ्न थालेको हो।
चिसापानीको सिमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भए पनि बीच सडकमै टिकटक बनाउनेका कारण जोखिम बढाएको हो। चिसापानीलाई पश्चिम नेपालको एक प्रसिद्धस्थलका रुपमा लिइन्छ।
पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरू कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भए पनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो।
कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरुको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरु बताउँछन्। पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिबार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेहरुले भरिने बताए।
उनले भने, ‘सवारी साधन साइडमा राखेर राजमार्गको बीच सडकमा नै बसेर टिकटक र सेल्फी खिच्ने गर्छन् । शनिबार र बिदाको दिन त यहाँ धेरै भीडभाड हुन्छ। त्यस्तोमा त सवारी साधन पास हुन समेत समस्या हुन्छ। यसले दुर्घटनाको जोखिम बढाउँछ। यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो।’
पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको संख्या प्रतिदिन बढ्न थालेको छ। पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तारहरू बाँधेर अड्याइएको छ। तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ।
यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन्। पुलको लम्बाई ५ सय मिटर र १० मिटर चौडाइ रहेको छ। पछिल्लो समय कर्णाली नदीमा र्याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।