पोखरा– पर्यटकीय नगरी पोखरामा आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) इन्टरनेसनलको ‘वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट—२०२३ दिगो पर्यटन तथा डिजिटाइजेसनमा जोड दिँदै सम्पन्न भएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पाटा इन्टरनेसनलको मुख्य आयोजना एवं पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयोजनमा यही जेठ १६ देखि पोखरामा मार्ट सुरु भएको थियो। चार दिनसम्म चलेको सम्मेलन तथा मार्टमा भएको बहस तथा छलफलमा आर्थिक विकासको दिगो पर्यटन आजको आवश्यक्ता भएकोमा विज्ञहरुले जोड दिएका छन्।
उनीहरुले बदलिँदो परिवेशमा पर्यटन विकास र प्रर्वद्धनको लागि डिजिटाइजेसनलाई समेत सँगसँगै लैजानुपर्ने बताए। यस्तै उनीहरुले विश्व पर्यटन विस्तारै कोभिडअघिको लयमा फर्किन थाले पनि पर्यटनले आर्थिक मन्दिको असर बेहोरिरहेको बताए। विज्ञहरुले विश्वको पर्यटनलाई कोभिड अघिको अवस्थामा फर्किन करिब एक वर्ष कुर्नुपर्ने धारणा समेत राखेका छन्।
नेपालमा पहिलो पटक आयोजना गरिएको यो सम्मेलन कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्नुका साथै नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा चिनाउन सफल भएको आयोजकको विश्वास छ।
सम्मेलनमा विभिन्न २१ देशका अतिथि, क्रेता र बिक्रेतासहित २५० भन्दा बढीको सहभागिता रहेको मार्टमा विभिन्न देशका पर्यटन विज्ञहरुले विश्वको पछिल्लो पर्यटनको अवस्था, चुनौती र अवसर, आर्टिफिसियल इन्टेलिजेन्स, सोसल मिडिया इन्फ्लुएन्स, महामारी र दीगो पर्यटनका विभिन्न आयामबारे बहस तथा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।