काठमाडौं– सुनकोशी नदीमा गाडी खस्दा वेपत्ता भएका सीटीईभीटीका २ निर्देशकसहित ३ जनालाई खोज्न सशस्त्र प्रहरी बलले काठमाडौंबाट गोताखोरको टोली पठाएको छ।
सशस्त्रले काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपत् उद्धार गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक (सई) कमाण्डमा ७ जनाको गोताखोर टोली पठाएको हो।
त्यसैगरी आश्रित गुल्म सिन्धुलीबाट डिजास्टर म्यानेजमेन्ट (डीएम) इन्सपेक्टरको कमाण्डमा १३ जना, रामेछापबाट सईको कमाण्डमा ९ जनाको टोली पनि परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
घुर्मी–खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा सीटीइभीटीका २ निर्देशक र एक अधिकृतस्तरका कर्मचारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालले बताएका छन्। स्कर्पियो गाडीका चालक भने पौडिएर बाहिर निस्केका छन्।
बाँकी ३ जना भने अहिलेसम्म वेपत्ता छन्। वेपत्ता भएकाहरु २ जना सहसचिवस्तरका १ जना अधिकृतस्तरका कर्मचारी रहेको सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।