काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा अभियुक्त बनाइएकाहरुको आज (शुक्रबार) पनि काठमाडौं जिल्ला अदालतमा बयान हुँदैछ।
शुक्रबार पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित ३ जना अभियुक्तको बयान लिइने काठमाडौं जिल्ला अदालतले जनाएको छ। खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको शुक्रबार बयान लिइने भएको हो। शरणार्थी प्रकरणका प्रतिवादी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको बयान काठमाडौंका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको छ। यसअघि बिहीबार पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता आङटावा शेर्पा र गृह मन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमशेर मियाको बयान भएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। यो प्रकरणमा प्रतिवादी बनाइएका १२ जना अझै फरार छन्।
नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।