कञ्चनपुर– कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थानीयले विरोध गरेपछि स्थिति नियन्त्रणमा लिन लगाइएको कर्फ्युको तालिका फेरिएको छ। भीमदत्तनगरमा आज बेलुकी ६ बजेदेखि राति १० बजेसम्म र सोमबार बिहान ५ देखि दिउँसो १२ बजेसम्म कर्फ्यु खुलाइएको छ।
जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्युको समय तालिका फेरबदल गरेको जिल्ला सुरक्षा समितिका एक सदस्यले जानकारी दिए।
शुक्रबार राति ८ बजेदेखि स्थिति सामान्यरुपमा ल्याउन र शान्तिसुरक्षा खलबलिन नदिन कर्फ्यु लगाउन थालिएको हो।
भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइँदै आएको छ। भीमदत्तनगरमा वातावरण केही सामान्य बनेकाले आइतबार बिहान पनि पाँच घण्टा कर्फ्यु हटाइएको थियो। सोमबारसम्म तोकिएको समयसीमा बाहेकको समय भने कर्फ्यु यथावत् रहनेछ।
छानबिन टोली स्थलगत अनुगमनमा
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आज बालिकाको शव भेटिएको उखुबारीको अनुगमन गरेको छ।
दुई दिनअघि छानविनका लागि यहाँ आइपुगेको गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको पाँच सदस्यीय टोलीले निर्मलाको शव भेटिएको उखुबारी, निर्मला स्कूलको गृहकार्य गर्न गएका साथी रोशनी बमको घर र निर्मलाको घरसमेत अनुगमन गरेको छ।
टोली यहाँ आइपुगेकै समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मलाका साथी रोशनी र उनकी दिदी बबिता बमलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।
यसअघि प्रहरीले घटनाका वास्तविक हत्यारा लकाउन मानसिक सन्तुलन गुमाएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको आरोप लगाउँदै यहाँका स्थानीयले आन्दोलन चर्काएका थिए।
आन्दोलनरत पक्षले बमको घरमा बढी अनुसन्धान केन्द्रित हुनुपर्ने र मानसिक सन्तुलन गुमाएका व्यक्तिले बलात्कारी गरी हत्या नगरेको दाबी छ । भीमदत्तनगरमा जिल्ला प्रशासनले स्थिति जटिल बन्न नदिन लगाएको कफ्र्युका बीच छानबिन समिति भने अनुसन्धानमा जुटिरहेको छ । छानबिन समितिसहित स्थानीय प्रशासनले आन्दोलन बन्द गरेर छानबिन सहज बनाउन आग्रहसहित यहाँका सर्वदलीयरसर्वपक्षीय बैठकसमेत डाकेको थियो।
पन्त र खुन्नाको परिवारलाई पाँचरपाँच लाख प्रदेश सरकारको निर्णय
सोही घटनाको यथार्थ छानबिनको माग गर्दै प्रदर्शन भएपछि शुक्रबार प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा भीमदत्तनगरपालिका–१८ का १४ वर्षीय सनी खुनाको गोली लागेर मृत्यु भएको थियो। संघीय सरकारले शनिबार खुना र पन्त दुवै १० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेको थियो। आइतबार प्रदेश सरकारले पनि दुवैको परिवारलाई पाँचरपाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।