काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौले मंगलबार तीन अभियुक्तहरुको बयान लिन थालेको छ। जिल्ला अदाल काठमाडौका अनुसार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु गरिएको हो। अदालतका कर्मचारीहरुले न्यायाधीशको रोहबरमा ३ जना अभियुक्त छुट्टा–छुट्टै बयान लिइरहेका छन्।
यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान भएको थियो। गत शुक्रबार केशवप्रसाद दुलाल र सागर राईको बयान भएको थियो। मंगलवारसम्म ८ अभियुक्तको बयान सकिने छ।
सरकारी बकिलको कार्यालयले १७ जना प्रतिवादीलाई अभियोगपत्रसँगै पेस गरेको छ। अआ ९ जना प्रतिवादीहरुको बयान बाँकी रहने छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, वहालवाला सचिव टेकनारायण पाण्डेको बयान लिन बाँकी रहेको छ। उनीहरुलाई फरक–फरक ठाउँमा न्यायिक हिरासतमा राखिएको छ।
अर्को सातादेखि थुनछेक सुरु गर्ने तयारी
जिल्ला अदालतका सुचना अधिकारी दीपक दाहालले यो साता बयान सकेर अर्को साता थुनछेक बहस सुरु गर्ने तयारीमा अदालत रहेको बताए। बुधबार, बिहीबार र शुक्रबार सवैको बयान सकेर आइतबारवाट थुनछेक बहस हुने उनले बताए। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मुद्दा रहेको छ। उक्त इजलासमै थुनछेक बहस हुने छ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणमा सरकारी वकिलले ३० जना प्रतिवादीविरुद्ध गत बुधबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
उनीहरुविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध र सरकारी कागजात तथा दस्तखक कीर्ति लगायत कसुरमा मुद्दा दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।