जनकपुर– सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का मन्त्रीले नै आइतबार राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्।
सरकारका आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवले आँफैले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका हुन्।
प्रदेश २ सरकारले विज्ञप्ति जारी गरी रक्षाबन्धन तथा जनैपूर्णिमाको सार्वजनिक बिदा घोषणा गरेको थियो। तर, प्रदेश २ का ८ वटै जिल्लाका अधिकांश बैंक, अदालत तथा जिल्ला प्रशासन लगायतका सरकारी कार्यालय सञ्चालनमा छन्। सरकारको निर्णय अवज्ञा गरेको जानकारीपछि मन्त्री यादव अनुगमनमा निस्किएका थिए।
ताला लगाउनुपूर्व बैंक प्रशासन र मन्त्रीकाबीचमा लामो छलफल भएको थियो। तर, बैंक बन्द गर्ने/नगर्ने भन्ने विषय केन्द्रीय कार्यालयले निर्धारण गर्ने जवाफ पाएपछि मन्त्रीले मुल गेटमा ताला लगाएको जनाइएको छ। बैंकमा तालाबन्दी गरेपछि जिल्ला प्रशासन कार्यालय र अदालत लगायतका अन्य कार्यालयहरु आँफै बन्द भएका थिए।
संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले प्रतिक्रिया दिए।
‘प्रदेश भित्रको बिदा तथा उत्सवको निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई छ। कानुनी व्यवस्था पनि सोही अनुसार छन्’, उनले भने, ‘तर केन्द्रीय सरकारको निर्देशनमा केही कार्यालयहरुले पटक–पटक प्रदेश सरकारको निर्णय र कानुन समेतको अवज्ञा गरेपछि तालाबन्दी गरियो।’
यसपछि पनि सरकारका निर्णय कार्यान्वयन नगरे त्यस्ता कार्यालयका प्रमुखलाई नै कारबाहीको दायरामा ल्याउने मन्त्री यादवले चेतावनी दिए।
यसअघि मुस्लिम समुदायको इद लगायतका चाडपर्वमा पनि प्रदेश सरकारले दिएको सार्वजनिक बिदा बैंक, अदालत तथा जिल्ला प्रशासन लगायतका कार्यालयहरुले मानेका थिएनन्।
प्रदेश सरकारले शनिबार जारी गरेकाे सार्वजनिक बिदाकाे सूचना:

सार्वजनिक बिदा कार्यान्वयनका लागि आन्तरिक मामिला तथा योजना मन्त्री यादवद्वारा जारी सूचना:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।