काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले कञ्चनपुर घटनामा पर्दा पछाडी भड्काउने कार्य भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै भइरहेको आन्दोलनलाई घुसपैठ गरी भड्काउने कार्य भएको दाबी गरे।
‘आन्दोलनकारीलाई उकास्ने, भड्काउने कार्य भएको छ, अपराधीलाई कानुनी दायरमा ल्याउन असहज बनाउने कार्य भएका छन्’, उनले भने, ‘सवै राजनीतिक दलहरुले यसमा सचेत हुनुपर्दछ।’
आगामी दिनमा यस्तो घटना नदोरियोस् भन्दै रावलले सरकारको ध्यानाकार्षण गराए।
पन्त हत्याकाण्डमा गोली चलेर आन्दोलनकारीको मृत्यु हुनु विडम्वना भएको भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइको आलोचना गर्दै रावलले विगतमा यस्ता धेरै घटना भएको टिप्पणी गरे। स्वर्गीय जननेता मदन भण्डारीको हत्या भएको समयमा सडकमा उत्रेका एमाले कार्यकर्तामाथि गोली प्रहार भएको घटना सम्झाउँदै उनले आजसम्म यस्ता कुराको सामाना गर्दै आएको टिप्पणी गरे।
‘हत्याको विरोध र न्याय मागेका जनताको मृत्यु हुनु विडम्वना भएको भन्ने कुरा यही सदनमा सुने, तर हामीले विगतमा यो भोगेको हौं’, उनले भने, ‘विगततर्फ फर्किँदा जननेता मदन भण्डारीको हत्याको छानविनको माग गर्दै हामी आन्दोलनमा उत्रिँदा उल्टै कतिपय व्यक्तिले ज्यान गुमाउनु पर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।