काठमाडौं– नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले वैयक्तिक गोपनीयता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित हुने बताएका छन्। उनले पारदर्शितालाई संकुचित गर्ने प्रावधानहरुलाई सच्याउन आग्रह गरे।
'व्यक्तिका तस्बिरहरु खिच्न नपाइने र सार्वजनिक स्थलमा खिचिइहाल्यो भने पनि सहमति लिनुपर्छ भन्ने कुराले प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्न पुग्छ। अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न पुग्छ', आइतबार संसदमा बोल्दै भट्टराईले भने, 'लोकतन्त्रको महत्त्वपूर्ण अंग पारदर्शितालाई संकुचित गर्छ। यसलाई सच्याउनतिर ध्यान पुगोस् भन्न चाहन्छु।'
भट्टराईले विधेयकका केही कुरा खुला समाज र लोकतन्त्रको भावना विपरित भएको बताए।
'वैयक्तिक सूचना भनेर निजको शिक्षा र शैक्षिक उपाधिलाई पनि गोप्य राख्नुपर्ने, आपराधिक पृष्ठभूमि वा फौजदारी कसुरमा सजाय पाएको वा कसुर भुक्तान गरेको विवरण, राजनीतिक संलग्नता आदिजस्ता कुरा गोप्य राख्नुपर्ने कुरा राखिएका छन्, यो ठीक छैन। यो लोकतन्त्र सम्मत छैन। यस्ता विषयलाई सच्याइनुपर्छ', भट्टराईले माग गरे।
भट्टराईले मुलुकी संहितामा थुप्रै त्रुटी रहेको र संशोधन गर्न जरुरी रहेको बताए।
उनले संसदमा आएका विधेयकलाई हुबहु पारित नगरि समितिमा लगेर व्यापक छलफल गरी पारित गर्न आग्रह गरे।
उनले महिलाहरुको अधिकार कति सुरक्षित भन्ने कुराले प्रजातन्त्रको मापन गर्ने बताए।
'बलात्कार लगायतका जघन्य घटना निन्दनीय छ', भट्टराईले भने, 'कानुन बनाउँदा कुनै पनि छिद्र राख्नुहुँदैन।'
भट्टराईले नागरिकता र प्रजननको अधिकार सम्बन्धी विधेयकमा अझै पनि केही विभेद देखिएको बताए। 'महिलालाई बाबुको नाम खोल्न चाहने शर्त राखिनु हुँदैन। बाबु छ छैन भन्ने राख्नु जरुरी छैन। विदेशीसँग बिहे गरेको भए पनि नेपालमा बसेको भए वंशजको आधारमा नागरिकता दिने व्यवस्था राखिनु पर्छ', उनले भने।
'हामीहरु जस्तो राज्यबाट सुविधा प्राप्त गर्ने अवस्थामा पुगेका व्यक्तिहरुले स्वास्थ्य उपचारका लागि राज्यबाट सुविधा नलिने र विपन्नहरुलाई मात्रै स्वास्थ्य उपचारका लागि सहयोग दिनका लागि किन संकल्प नगर्ने', भट्टराईले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।