काठमाडौं– प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा भएसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपी बढुवाको बाटो खुलेको छ।
यसअघिका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको पालामा समेत करिब २० डीएसपीको पद रिक्त हुँदा समेत प्रतिस्पर्धी धेरै भएकाले प्रहरी प्रधान कार्यालयले बढुवा गर्न सकेको थिएन। पद रिक्त भएको मितिले ३ महिनाभित्र बढुवा गरिसक्नुपर्ने प्रावधान भए पनि थोरै सिटमा बढुवाका धेरै प्रतिस्पर्धीहरुको दबाब आउँदा प्रहरी प्रधान कार्यालयले बढुवा नगरी रोकेर राखेको थियो।
तर यो पटक भने रिक्त डीएसपीको संख्या ४४ पुगेकाले जतिसक्दा चाँडो बढुवा निकाल्ने प्रहरी प्रधान कार्यालयको तयारी छ। बढुवाका लागि २०७० सालमा इन्सपेक्टरमा भर्ना भएका १४४ जना प्रहरी अधिृकतबीच तीव्र प्रतिस्पर्धा छ।
यो टोलीका ४४ जना डीएसपी बन्दा बाँकी १०० जना भने इन्सपेक्टरमै रहनेछन्। सिट संख्या थोरै भएकाले जसरी पनि बढुवामा पर्न भन्दै इन्सपेक्टरहरु शक्तिकेन्द्र धाएर दबाब दिइरहेका छन्।
इन्सपेक्टरबाट डीएसपी बढुवाका लागि प्रहरी महानिरीक्षकको अध्यक्षतामा गृह मन्त्रालयका सहसचिव सदस्य, आईजीले तोकेको एआईजी तथा डीआईजी सदस्य सचिव रहेको बढुवा समिति रहन्छ। उक्त समितिले सिफारिस गरेको आधारमा बढुवा गरिन्छ।
बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कन (कासमू), ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अभनुव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीलाई आधार मान्नुपर्ने उल्लेख गरिएको छ। तर यी आधारहरुलाई गौण बनाउँदै बढुवा समितिले दिने ७.५ अंकको चलखेलमा बढुवा हुने गरेको गुनासो प्रहरीमा बाक्लै सुनिने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।