प्रतिकात्मक तस्बिर
काठमाडौं– अमेरिकी विदेश मन्त्रालयले केही दिन अघि नेपालको धार्मिक स्वतन्त्रताबारे सार्वजनिक गरेको एक प्रतिवदेनको नेपाल सरकारले खण्डन गरेको छ। उक्त प्रतिवेदनमा नेपाललाई हिन्दू राज्य बनाउन भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी र उसका समर्थकले नेपाली नेताहरुलाई पैसा दिने गरेको दाबी गरिएको थियो।
उक्त विषयलाई प्रतिनिधि सभाको शनिबारको बैठकमा सांसद योगेश भट्टराईले सोधेको सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारको ध्यानाकर्षण भएको र अमेरिकी सरकारलाई नोट समेत पठाइएको जानकारी गराए।
‘नेपाल सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षणसहित अमेरेकी दूतावासमार्फत् अमेरिकी सरकारलाई नोट पठाइसकिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
के थियो अमेरिकी प्रतिवेदनमा?
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको सन् २०२२ को ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता रिपोर्ट’ प्रतिवेदनमा नेपाललाई हिन्दू राज्य बनाउन भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी र उसका समर्थकले नेपाली नेताहरुलाई पैसा दिने गरेको उल्लेख गरिएको थियो।
‘भारतको बीजेपीसम्बद्ध दक्षिणपन्थी धार्मिक समूहहरूले हिन्दू राज्यको वकालत गर्न सबै दलका प्रभावशाली राजनीतिज्ञहरूलाई पैसा उपलब्ध गराउन जारी राखेको नागरिक समाजका नेताहरूले बताए,’ प्रतिवेदनमा उल्लेख गरिएको थियो।
यस्तै, सो प्रतिवेदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धर्मनिरपेक्षता उल्ट्याउन पनि भाजपाले दबाब दिँदै आएको उल्लेख रहेको छ। ‘नागरिक समाजका नेताहरूले भारतको सत्तारुढ दल, हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) र भारतका अन्य हिन्दू समूहहरूको प्रभावले नेपालमा राजनीतिज्ञहरू, विशेष गरी राप्रपालाई, हिन्दू राज्यलाई उल्ट्याउन समर्थन गर्न दबाब दिइरहेको बताए,’ प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।