काठमाडौं। नारायणी नदीमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेपछि चितवन र नवलपरासीका नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रमा बाढीको उच्च जोखिम रहेको भन्दै तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७:४५ बजे जारी गरेको विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिनअनुसार नारायणी नदीको जलसतह खतरा तह ९ मिटरभन्दा माथि करिब ११ मिटर पुगेको छ। नदीको जलसतह अझै बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।
नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा बहाव खतरा तहभन्दा उल्लेख्य रूपमा माथि पुगेको छ। सेती, मादी, मर्स्याङ्दी, दरौदी र चेपे नदीमा पनि बहाव सतर्कता तहभन्दा माथि रहेको र बढ्दो क्रममा रहेको जनाइएको छ। बुढीगण्डकी र त्रिशूली नदीको बहावसमेत सतर्कता तह नजिक पुगेको छ।
महाशाखाका अनुसार देवघाटस्थित बाढी मापन केन्द्रमा नारायणी नदीको जलसतह आज दिउँसोसम्म बढ्ने क्रम जारी रहने अनुमान गरिएको छ। नदीको जलसतह करिब १३ मिटर पुग्न सक्ने र यसको उच्चतम अवस्था आज बिहान ११ बजेको आसपास देखिन सक्ने पूर्वानुमान गरिएको छ। आज साँझसम्म नारायणीको जलसतह खतरा तहभन्दा माथि रहने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।
उच्च बहावका कारण चितवन तथा नवलपरासीका नारायणी नदी आसपासका होचा, तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बाढीको जोखिम उच्च रहेको छ। नदी किनार, तटीय क्षेत्र तथा कमजोर तटबन्ध भएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित तथा अग्लो स्थानतर्फ जान वा स्थानान्तरण हुन अनुरोध गरेको छ। साथै नारायणी नदी तथा यसका सहायक नदीहरूको तटीय क्षेत्रमा आवतजावत नगर्न, नदी किनार, पुल, तटबन्ध तथा जोखिमयुक्त स्थानमा अनावश्यक भीड नगर्न आग्रह गरिएको छ।
कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौदी, चेपे, बुढीगण्डकी तथा त्रिशूली नदी र तिनका शाखा खोलानालामा समेत आज साँझसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने निर्देशन र बाढीसम्बन्धी सूचनाको पालना गर्नसमेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।