काठमाडौं– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेकामध्ये केशव दुलाल र सागर राईको बयान आज (शुक्रबार) भइरहेको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यी दुईको बयान भइरहेको छ। दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ। पूर्ववडाध्यक्ष समेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो।
अहिले उनीहरु दुवैको बयान भइरहेको छ। शुक्रबार नै यी दुईको बयान सक्ने तयारी रहेको अदालतले जनाएको छ।
गोलाप्रथा गर्दा न्यायाधीश न्यौपानेको इजलासमा पेशी परेको थियो।
पक्राउ परेको सबै १६ अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ। थुनछेक बहसका लागि ४ जना सरकारी वकिलले तयारी गरिरहेका छन् भने प्रतिवादीका तर्फबाट ५० भन्दा धेरै कानुन व्यवसायी हुने देखिएको छ।
उनीहरूले पूर्पक्षका लागि थुनामा राख्न नहुने तर्कसहित बहस गर्नेछन्। उनीहरूको बहसपछि न्यायाधीश न्यौपानेले धरौटीमा रिहा गर्ने कि थुनामा पठाउने निर्णय गर्नेछन्।
थुनछेकपछि जिल्ला अदालतले फरार रहेकाहरुको हकमा म्याद जारी गर्ने छ। उनीहरूको म्याद तामेली भएसँगै उनीहरूको हकमा पनि थुनछेक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।