रौतहट– शनिबार साँझ रौतहटको लालबकैया नदीमा भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता भएकामध्ये २ जनाको शव फेला परेको छ। इशनाथ नगरपालिका–३, औरैयाकी ३५ वर्षीय रूनादेवी पटेल र अर्को एउटा शव फेला परेको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार फेला परेको एउटा शवको भने पहिचान भएको छैन। तर, स्थानीयले भने गौर नगरपालिका–५ की ६५ वर्षीय शान्तिदेवी साहको हुनसक्ने अनुमान गरेका छन्।
घटनास्थलभन्दा करिब ८ किलोमिटर दक्षिणस्थित भारतको पररिया घाटमा दुवैको शव फेला परेको रिजालले बताए।
शव फेला परेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बेसक्याम्प, औरैयाका प्रमुख रामवालक साह नेतृत्वको एक टोली लाश भेटिएको स्थलतर्फ गएको छ। डुंगाका सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी र इसनाथ नगरपालिका औरैयाकी १० वर्षीया बालिका उषमा कुमारी पटेलको अवस्था अझै अज्ञात छ।
दुर्घटनामा परेकाहरुमध्ये २१ जनाको जीवितै उद्धार गरिएको रौतहटका प्रहरी प्रहुख प्रहरी उपरिक्षक केदार ढकालले जानकरी दिए।
नदीमा पल्टिएको डुंगालाई नदी बाहिर निकाली सकिएको पनि उनले बताए। ‘डुंगामा कोही रहेको हुनसक्ने अनुमान थियो। तर डुंगा बाहिर निकाली सकिएकोले त्यो शंका अब रहेन।’, ढकालले भने।
घाइतेहरुको स्थानीय वैरिया अस्पतालमा उपचार भइरहको र खोजी पनि जारी राखिएको प्रहरीले जनाएको छ।
लालबकैया नदीमा आएको बाढीले अनियन्त्रीत भएर डुंगा निर्माणधीन पुलको दुई नम्बर पिल्लरमा ठोकिँदा शनिबार साँझ दुर्घटनामा परेको रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।