काठमाडौं– रेशम चौधरीलाई आममाफी नदिन भन्दै टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्। सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर रिहा गर्न लागेको भन्दै पीडित शारदा कडायत बोहराले निवेदन दिएकी हुन्।
निवेदक कडायत टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक (इन्सपेक्टर) केशव बोहोराकी पत्नी हुन्। तीन तहको अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिएर पीडितलाई थप चोट दिन नहुने भन्दै निवेदन दिएको शारदाले बताएकी छन्।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहटको माग राख्दै भएको प्रदर्शनमा एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बोहरासहित ८ सुरक्षाकर्मी र एक बालक गरी ९ जना मारिएका थिए।
उक्त आन्दोदनको नेतृत्व हाल जेलमा रहेका रेशमले गरेको खुलेको थियो। रेशमलाई जिल्ला अदालत कैलाली, उच्च अदालत दीपायल र सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएको छ।
हाल डिल्लीबजार कारागारमा रहेका चौधरीलाई जेठ १५ गते रिहा गर्ने प्रक्रिया सरकारले अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।