काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीले दुई करोड रुपैयाँ बुझेको आरोपपत्रमा उल्लेख गरिएको छ।
उनलाई यो प्रकरणका नाइकेमध्येका एक सानु भण्डारीले १ करोड साठी लाख नगद र उनका छोरा सन्दीप रायमाझीलाई बैंकिङ प्रणालीबाट ४० लाख रुपैयाँ दिएको बयान दिएका छन्।
यसैगरी सानु भण्डारी र केशव प्रसाद दुलालले टेकनाथ रिजाललाई रायमाझीको घरमा ल्याई भेट गराएको समेत उल्लेख छ। नक्कली भुटानी शरणार्थी बनाएर सहयोग गरिदिनका लागि रायमाझीले आफूलाईसमेत अनुरोध गरेको बयान टेकनाथ रिजालले दिएका छन्।
रायमाझीले ललितपुरको बखुण्डोलस्थित टंक गुरुङको रेष्टुरेण्टमा बारम्बार मिटिङ गरेको, आफ्ना भाईलाई कोरोना भई हेलिकप्टरबाट काठमाडौं ल्याएको दिन प्रतिवादी डा इन्द्रजित राईसँग होटल सांग्रिलामा मिटिङ गरेको र सोही मिटिङमा जाहेरवाला प्रेमराज पन्थीलाई निजका आफन्तहरु समेतलाई अमेरिका पठाउने कुराको ग्यारेन्टी गरेको आरोपपत्रमा उल्लेख छ।
२०७७ साउन–भदौ महिनातिर भण्डारी र दुलालले ईन्द्रजित राईलाई रकम दिएको र समयमा काम नगरेको सम्बन्धमा विवाद भएको बताइएको छ। उक्त विवाद हातपातको तहमा पुग्दा सहजकर्ताको भूमिका निर्वाह गरेको बयान रायमाझी आफैंले दिएका छन्।
‘इन्द्रजित राईको कार्यकक्षमा विवाद भई हातहालसम्म भएको हुँदा मसमेत गई छुट्टाएर ३ जनालाई कार्यकक्ष बाहिर लगेको, त्यतिबेला मलाई ईन्द्रजित राईले अबदेखि यीनीहरुलाई भित्र पस्न नदिनु भनि आदेश दिएको हो,’ रायमाझीले बयानमा भनेका छन्।
भण्डारीको घरबाट बरामद भएको डायरीमा विभिन्न मितिमा रकम दिएको भनि अभिलेख राखेको देखिएकोसमेत बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।