काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइकेमा पाँच जनालाई प्रस्तुत गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ।
श्रेणीवद्ध संरचना तयार गरी संगठित अपराधिक क्रियाकलापमा लागेका बताउँदै पहिलो तह अर्थात् मुख्य नाइकेमा सानु भण्डारी र केशव दुलाल, ईन्द्रजित राई, सन्दीप रायमाझी र प्रतीक थापालाई राखिएको छ।
त्यसपछि दोस्रो तहमा कार्यान्वयन गराउन सक्रियहरु भनेर राखिएको छ। दोस्रो तहमा सन्देश शर्मा, आङटावा शेर्पा, निरज राई, टंक कुमार गुरुङ, सागर राई रहेका छन्।
त्यसमुनि रहेकाले कार्यदल बनाउने र नीति नियम बनाउने काम गरेको बताइएको छ। जहाँ पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, खाणका पिए नरेन्द्र केसी, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हज समितिका अध्यक्ष शम्सेर मियाँ रहेका छन्। उनीहरुले नीतिगत रुपमा प्रभाव पार्ने काम गरेको उजुरीमा बताइएको छ।
संगठित रुपमा ठगीको रकम उठाउने अर्थात् चौथो तहमा रामशरण केसी, राजेश अर्याल, विक्रम भन्ने गोविन्द चौधरी, सुनिल बुढाथोकी, निरन्जन कुमार पोखरेल, धिरेन राई, मोहनराज राई, अशोक पोखेरल, सागर राई, दीपा हुमागाईं, विनिता साङदेन लिम्बू, हरिभक्त महर्जन, लक्ष्मी महर्जन र राजेश अर्याल रहेका छन्।
प्रहरीले जिल्ला अदालत काठमाडौंमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ। उनीहरुविरुद्ध राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र कीर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।