काठमाडौं– ‘हिमालय बचाउ, नदी जोगाउ’ अभियानअन्तर्गत विश्वको सबैभन्दा उचाइमा रहेको तिलिचो ताल परिसर सफा गर्दै सोही स्थानबाट हिमालय जोगाउका लागि सन्देश प्रवाह गरिएको छ।
मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गरिरहेको अभियानका क्रममा सोमबार सो स्थानबाट हिमालय बचाउ नदी जोगाउने सन्देश प्रवाह गरिएको काठमाडौं अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए।
शान्ति समाजका सल्लाहकार तथा धर्ती जोगाउ अभियानका अभियानकर्मी उत्तम पुडासैनी, शान्ति समाज काठमाडौं शाखाका सभापति, सचिव तथा कोषाध्यक्ष क्रमशः भगवान पुडासैनी, प्रमोद फुँयाल र विकास थापा सम्मिलित समूहले मनाङ जिल्लाको खाङ्गसारदेखि तिलिचोसम्मको पदयात्रा गर्दै यत्रतत्र फालिएका फोहोर व्यवस्थापन गरेर अभियानलाई निरन्तरता दिएको हो।
तिलिचो किनारमा पुगेर भावी सन्ततिको सुरक्षाका लागि र मानव जीवनकै अस्तित्वका लागि अब फोहोर व्यवस्थापनमा सबै सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको छ।
सो अवसरमा अभियानकर्मीको समूहले कार्बन उत्सर्जनमा न्यूनता ल्याउन सबैसँग आग्रह गरेको छ। शान्ति समाजले हिमालय बचाउ अभियानअन्तर्गत यसअघि सङ्खुवासभाको मकालुबाट हिमालय बचाउ अभियानको प्रारम्भ गरेको थियो।
उक्त अभियानको अगुवाइ नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गरेका थिए। त्यसपछि मुस्ताङको लोमानथाङबाट समेत हिमालय बचाउ अभियानलाई अघि बढाइएको समाजले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।