काठमाडौं– भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा असुलेर भएको ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझाएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले प्रहरीले फाइल बुझाएको नेपाल लाइभलाई जानकारी दिए। अब फाइल अध्ययन गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गरिने उनले बताए।
प्रहरीले ३३ जनालाई प्रतिवादी बनाउनु पर्ने राय दिएको छ। १६ जना पक्राउ र बाँकी १७ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने प्रहरीको राय रहेको छ।
त्यसैगरी उनीहरुलाई ३ वटा अभियोग लगायन राय दिइएको छ। जसमा संगठित ठगी, कीर्तेसम्बन्धी कसुर र राज्यविरुद्धको अपराधको कसुर लगाउनुपर्ने रायमा उल्लेख गरिएको छ। प्रहरीले नक्कली शरणार्थी प्रकरणमा ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो।
भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापा (बादल)को पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वको कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।
छुटपुट भन्दै उक्त कार्यदलले भुटानी शरणार्थीको रुपमा ४२९ जनाको नाम समेट्दै प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन बादलकै पालामा गृहबाट मन्त्रिपरिषद्मा पेस गरिएको थियो। तर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार परिवर्तन भएपछि मन्त्रिपरिषद्ले पास गर्न सकेन। पछि उक्त प्रतिवेदन मन्त्रालयमै फिर्ता पठाइएको थियो। त्यही प्रतिवेदन गुपचुप राखिएको थियो।
तर अनुसन्धानका क्रममा वास्तविकता भने अर्कै रहेको खुल्यो। नक्कली भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि प्रहरीले पन्थीको कार्यदलसँग पनि बयान लियो। उनीहरुले आफूले तयार पारेको प्रतिवेदन प्रहरीकहाँ पेस गरे। उनीहरुले पेस गरेको प्रतिवेदन र पछि गृहमन्त्री बनेका बालकुष्ण खाणले गुपचुप राखेको प्रतिवेदनमा मेल खाएन।
पन्थी कार्यदलले पेस गरेको प्रतिवेदन कीर्ते गरी अनसूची थपेर खाणको पालामा नक्कली नामहरु राख्दै रकम उठाएर ठगी भएको अनुसन्धानबाट खुलेको हो। यही नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरेर पास गराउने र त्यसपछि रकम लिएकाहरुलाई अमेरिका पठाउने तयारी थियो। यसका लागि उनीहरुले झापा तथा मोरङका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अर्को उपसमिति गठन गरेर नक्कली प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेका थिए। उपसमिति गठन समेत भइसकेको थियो।
तर तत्कालीन अवस्थामा उक्त विषय विवादमा आएपछि झापा र मोरङका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको उपसमितिले काम गर्न मानेन। यहीबीच नयाँ सरकार गठन भएपछि यो प्रकरणमा छानबिन सुरु भएको हो।
यता पन्थी नेतृत्वको कार्यदलले नै तयार पारेको प्रतिवेदनमा समेत नक्कली नामहरु राखिएको हुनसक्ने आकलन गरिएको छ। सोहीअनुसार अनुसन्धान पनि भइरहेको प्रहरीले जनाएको छ। यो प्रकरणमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको दाबी गरिएको छ।
यो ठगी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्। यो प्रकरणमा कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, खाणका सहयोगी नरेन्द्र केसी पक्राउ परेका छन्।
त्यस्तै, गृह मन्त्रालय मातहतको हज समितिका अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, पूर्ववडाध्यक्ष सागर राई, टेक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी गरी १६ जना पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।