काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसहित ७ जनालाई अध्यागमन विभागले विदेश जान रोक लगाएको छ।
मेयर नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा सहकारीले बचतकर्ताको रकम फिर्ता नगरी ठगी गरेको पाइएपछि अध्यागमन विभागले मेयर नेपालीसहितलाई कालो सूचीमा राखेको हो।
नेपालीसहित सहकारीका अन्य पदाधिकारी फरार हुन सक्ने भन्दै उनीहरुलाई विदेश जान रोक लगाउने गरी कालोसूचीमा राखेको हो।
मेयर नेपालीसँगै सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाहीलाई विदेश जान रोक लगाइएको अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुषालले नेपाल लाइभलाई जानकारी दिए।
सहकारीको करोडौं रकम हिनामिना गरी फरार भएपछि विदेश भाग्न सक्ने भन्दै यात्रा अनुमति रोकका लागि गृहमन्त्रालयले अध्यागमनलाई पत्राचार गरेको थियो।
त्यसपछि अध्यागमनले उनीहरुको विदेश यात्रामा रोक लगाएको हो। नेपाली नेकपा एमालेबाट २ पटक मेयरमा निर्वाचित भएका व्यक्ति हुन्। उनी संस्थापक अध्यक्ष रहेको सहकारीले करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ। यो सहकारीको बागलुङ बजारमा मुख्य कार्यालय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।